रुकुम चिनाउने उद्धेश्य बोकेको ‘कोसेली घर’ बन्द

२०७९ पुस १५

रुकुम पश्चिम / रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका –१ सहिदमैदानमा रहेको रुकुमेली कोसेली घर बन्द अवस्थामा रहेको छ । रुकुम र रुकुमको उत्पादन चिनाउने गरी ११ वर्ष पहिला सञ्चालनमा ल्याईएको कोसेली घर दुई वर्ष यता बन्द अवस्थामा रहेको छ ।

जिल्लामा आउने पाहुनाहरुलाई कोशेली दिने एवम् जिल्लामा उत्पादन भएका वस्तुको जानकारी तथा बिक्री वितरण एकै स्थानबाट गर्ने उद्धेश्यका साथ सञ्चालनमा ल्याईएको कोसेली घर बजारीकरण र आर्थिक अभावको कारण बन्द हुन पुगेको बताईएको छ । रुकुमलाई चिनाउने वस्तु राखेर ‘रुकुम ब्राण्ड’ बनाउने लक्ष्य लिएको भएतापनि दुई वर्ष यता कोसेली घर बन्द अवस्थामा रहेको सञ्चालक समितीका अध्यक्ष विवेक ओलीले जानकारी दिनुभयो ।

आर्थिक समस्या र पहिलाको सञ्चालक समितिले नयाँ कार्य समितिलाई हिसाबकिताब नबुझाएकोले उक्त घर बन्द हुन पुगेको अध्यक्ष ओलीको भनाई छ । व्यवधानहरु भएतापनि छिट्टै सन्चालनमा ल्याउने कोशिस भैरहेको ओलीले उल्लेख गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा उक्त कोसेली घर सन्चालन भएको थियो ।

२०६८ सालमा स्थानीय घरेलुबाट उत्पादित सिलाईबुनाइ र पशुपालनबाट उत्पादित खाद्यवस्तु संकलन गरि विक्री वितरण गर्ने उद्देश्यले कोसेली घर स्थापना गरिएको कोसेली घर सञ्चालक समितिका पूर्व अध्यक्ष भिउमान घर्तीले जानकारी दिनुभयो । घर्तीले रुकुम आउने स्वदेशी एवम् विदेशी पाहुनालाई रुकुमको चिनो दिन सजिलो हुने र स्थानीय उत्पादनमा जोड दिन यस्तो अभियान सुरु गरिएको भएतापनि नियमित सञ्चालन हुन नसक्नु दुःखद् पक्ष रहेको बताउनुभयो ।

कोसेली घर संचालक समितीका पूर्व सचिव कर्णबहादुर ओलीले घरमा स्थानीय उत्पादन जम्मा गरिएको भएपनि बजारीकरणको समस्याका कारण बन्द हुने स्थिती बनेको बताउनुभयो । स्थानीय सरकारले बजारीकरणमा ध्यान दिएमा सन्चालनमा कुनै समस्या नहुने उहाँको भनाई छ । यसमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री राखिएको थियो । जसले गर्दा जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई जिल्लाका बारेमा सजिलै जानकारी लिन सजिलो भएको थियो ।

कोसेली घरमा भेडाको रौंबाट बनेका राडिपाखी, अल्लोबाट उत्पादित कपडा, काठबाट उत्पादित विभिन्न कलाकृति, दुधजन्य उत्पादन, घ्यु, मह, अमला, बीउ बिजन, विभिन्न फलफूलहरुको जुस राख्ने गरिएको थियो । यसका साथै रुकुमकोटको कमलदहमा पाईने कमलको चाना, लोक्ताबाट बनेका वस्तु, बाँस तथा हस्तकलाका साधन समेत बिक्रिका लागि राखिने गरिएको थियो ।

बजार नपाएका स्थानीय उत्पादनको बिक्रीमा सहज ल्याउने उद्देश्यले मिक नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, कृषि विकास कार्यालय र जिल्ला विकास समितीको आर्थिक सहयोगमा कोसेली घर संचालनमा आएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्