Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्ड

शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडक : पाँच वर्षमा सात पटक म्याद थप, ठेकेदार सम्पर्कबिहिन

६७ प्रतिशत भौतिक र करिब ४६ प्रतिशत बित्तिय प्रगति
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा पाँच वर्ष पहिला निर्माण सुरु गरिएको एक सडकखण्डको म्याद सात पटक थप गरिएको छ । सडकखण्ड निर्माणको लागि सातौ पटक समयावधि थप भएपछि ठेकेदार सम्पर्कविहिन भएका छन् ।

जिल्लाको मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्ड निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी म्याद थप गरेपछि सम्पर्कविहिन भएको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पि.एच./एस.एम.एन.एस. जेभिले जिम्मा लिएको थियो । २०७४ सालमा निर्माण सुरु गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीको कारण बेलैमा हुन नसकेको आयोजना कार्यान्वयन इकाई रुकुमपश्चिमका व्यवस्थापक टंक प्रसाद खनालले जानकारी दिनुभयो ।

जम्मा १८ किलोमिटर लामो सडकखण्ड दुई वर्षमा निर्माण सम्पन्न गर्नका लागि सुरुमा निर्माण कम्पनिसँग २०७४ सालमा सम्झौता भएको थियो । समयमै काम सम्पन्न हुन नसकेपछि शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले आगामी जेठ ११ गतेसम्म अन्तिम म्याद राखेर सातौ पटक म्याद थप गरेको आयोजना प्रमुख खनालले जानकारी दिनुभयो । निर्माण कम्पनीका प्रमुख हेमराज गुभाजुसँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको उहाँले बताउनुभयो । ठेकेदारलाई सम्पर्कमा आउन र समयमै काम सम्पन्न गर्न आयोजना कार्यालयले सार्वजनिक रुपमै सूचना प्रकाशन गरेको समेत जनाईएको छ ।

आयोजना कार्यालयका अनुसार निर्माण कम्पनीले भ्याट सहित ८९ करोड ८० लाखको लागतमा शीतलपोखरी–झुल्खेत–चुन्वाङ र बालुवा–नयगाड जामाबगर–त्रिवेणी सडकखण्ड निर्माणका लागि सम्झौता गरेको थियो । हालसम्म सम्झौताको ६७ प्रतिशत भौतिक र करिब ४६ प्रतिशत बित्तिय प्रगति भएको आयोजना व्यवस्थापक खनालले उल्लेख गर्नुभयो । शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको १८ किलोमिटर सडकमध्य १५.५ किलोमिटर भूभागमा ट्रयाक खोलेर गाडि समेत सञ्चालन हुने गरेका छन् ।

जंगल र भिरको भूगागमा ट्रयाक खोल्न बाँकि रहेको छ । ठेकेदार कम्पनीले हालसम्म उक्त सडकखण्डको ६ किलोमिटरसम्म बेस कालोपत्रे र १३ किलोमिटर सडकको बेस र नाली निर्माण सम्पन्न गरिसक्नुपर्ने भएतापनि काम नै सुरु भएको छैन ।

पहिरो, सामाग्री ढुवानीको समस्या र कोरोनाको कारण देखाएर ठेकेदार कम्पनीले काममा ढिलाई गरेको थियो । गत असारमा सकिएको म्याद पुनः थप गरेपछि ठेकेदार कम्पनी निर्माणस्थलमा आएको छैन ।

मुसीकोट नगरपालिका –१० का वडा अध्यक्ष धनबहादुर खड्काले तिब्र गतिमा हुनुपर्ने काममा ठेकेदारको लापरबाहि भएको बताउनुभयो । सडकको ट्रयाक खोलिएको गलमपाटी गाउँसम्म सदरमुकामबाट वर्षायाम बाहेक नियमित गाडि आउजाउ हुने गरेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । वर्षाको अवधिभर सडकखण्डको विभिन्न भागमा आएको पहिरोले बाटो अवरुद्ध भएको र वडा कार्यालयले आफ्नो खर्चमा बाटो सुचारु गर्नुपरेको उहाँले उल्लेख गर्नुभयो । निर्माणको काम गर्ने बेलामा सडकखण्डमा मुख्य ठेकेदारको उपस्थिति नभएको उहाँले जनाउनुभयो ।

बाटोको ट्रयाक मात्र खोलेर गाडि चल्दा पनि स्थानीयवासी हर्षित भएका छन् । गाउँको उत्पादन बजारीकरण, बजारमा आउजाउ, खाद्यन्न ढुवानी लगायतका काममा सडक बनेपछि सहज भएको वडा नम्वर १० का पूर्व अध्यक्ष गोपेश्वर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धेश्य र लक्ष्य अनुसार समयमै सडक निर्माण भएमा यसले जनताको जीवनस्तर उकास्न मदत मिल्नेछ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्