Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वको चार स्थानमा सस्तो पसल सन्चालन

२०७९ पुस २०
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वका बिभिन्न ठाउँमा सस्तो पसल सन्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय सरकारको समन्वयमा जिल्लाका चार स्थानमा सस्तो पसल सन्चालन गरिएको हो ।

पुथा उत्तरगंगा गाउँपालिका १० को तकमा रहेको प्रतिक्षा इन्टरप्राइजेज, भुमे गाउँपालिका २ खाबाङ बगरमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सिस्ने गाउँपालिका ६ छिप्रिदहमा रहेको सिजन सप्लायर्स र सिस्ने गाउँपालिका ८ नायगाडमा रहेको पारस सप्लायर्सबाट सस्तो पसल सन्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख मधुकर डाँगीले बताउनुभयो ।

उहाँका अनुसार उपभोक्ताहरुले सस्तो पसलबाट सहुलियत मूल्यमा खाद्यान्न सामग्री खरिद गर्न पाउनेछन् । प्रदेश सरकारको कार्यविधि अनुसार जिल्लामा पहिलो पटक चार ठाउँमा सस्तो पसल सञ्चालन गरिएको कार्यालयका प्रमुख डाँगीले बताउनुभयो ।

सस्तो पसल सञ्चालनका लागि स्थानीय व्यापारीहरु बीच प्रतिस्पर्धा गराइएको थियो । सस्तो पसल सञ्चालनका लागि आवश्यक मापदण्ड अनुसार व्यवसायी छनौट गरिएको हो । सस्तो पसल सञ्चालन छनौटका लागि यस अघि त्यस क्षेत्रमा सबैभन्दा सस्तो मूल्यमा उपभोग्य सामग्री बिक्री गरिराखेको पसल तथा व्यवसायलाई छनौट गरिएको छ ।

सस्तो पसल सञ्चालन गर्ने जिम्मा पाएका व्यवसायीहरुले अब सस्तो पसल सञ्चालन कार्यविधिले तोकेको मापदण्ड अनुसार छूट दिइ बिक्री गर्नु पर्ने छ । कार्यालय प्रमुख डाँगीका अनुसार बजार मुल्यभन्दा सस्तोमा खाद्य सामाग्री सस्तो पसलबाट बिक्री गरिने छ ।

बजार मुल्य भन्दा चामलमा प्रतिकिलो १० रुपैयाँ, नुनमा प्रतिकिलो ५ रुपैयाँ, तेलमा प्रतिलिटर २० रुपैयाँ, दाल तथा गेडागुडीमा प्रतिकिलो २० रुपैयाँ, गहुँ तथा पिठोमा प्रतिकिलो २० र चिनीमा प्रतिकिलो १५ रुपैयाँ छुट दिइने बताइएको छ ।

एक घरपरिवारले सस्तो पसलबाट एक महिनामा चामल ५० किलो, नुन २ किलो, तेल ७ लिटर, दाल ५ किलो, गहुँ तथा पिठो १० किलो र चिनी ५ किलो किन्न पाउने व्यवस्था गरिएको छ । सस्तो पसलमा खाद्यान्न किन्न जादा साथमा घरमूलीको नागरिकताको फोटोकपी समेत लिनुपर्ने जनाइएको छ । यस कार्यले सर्वसाधारणहरुलाई सस्तोमा दैनिक उपभोग्य सामग्री खरिदमा सहज भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्