Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा विपद् पूर्व तयारी तथा प्रतिकार्य कृतिम घटना अभ्यास

२०७९ पौष २१
tribeni2

रुकुम पूर्व/ रुकुम पूर्वमा विपद प्रतिकार्य सम्बन्धि व्यवहारिक नमुना अभ्यास गरिएको छ । बिहिवार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित छिप्रीदह बजार नजिक नमुना अभ्यास गरिएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा घर आगलागी भएमा आगो कसरी निभाउन सकिन्छ, आगलागीमा परेका घाइते हरुलाई कसरी उद्धार गर्न सकिन्छ र खाना पकाउने ग्यास सिलिन्डरमा आगो लाग्ने अवस्था तथा यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उदेश्यले नमुना अभ्यास गरिएको हो ।

नेपाली सेनाको नरसिंह दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मको संयुक्त टोलीले उद्धारको नमूना अभ्यास गरेको हो । नरसिंह दल गणका ८ जना, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरी बलका ८ जना गरेर नमूना अभ्यास टोलीमा २४ जनाको समुहले उक्त अभ्यास प्रस्तुत गरेको थियो ।

जुनसुकै समयमा पनि घट्न सक्ने विपदजन्य घटना आगलागीमा परि घाइते भएकाहरुको उद्धार कसरी गर्न सकिन्छ भन्ने कुराको अभ्यास स्वरुप यो कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । साथै खाना पकाउने क्रममा पनि कतिपय सानो लापरबाहीले गर्दा सिलिन्डर ग्यास लिग भै आगलागी हुने हुदा यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउनमा यो कार्यक्रमले मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो ।

ग्रामीण लेबलमा अझै पनि ग्यासको प्रयोगमा अवगत नभएको र जुनसुकै बेलामा पनि आगलागी जन्य घटना हरु हुन सक्ने समस्यालाई मध्यनजर गर्दै आगलागी भएमा आगो नियन्त्रण कसरी गर्ने र आगलागीमा परेर घाइते भएकालाई कसरी उद्धार, प्राथमिक उपचार गरि अस्पतालसम्म पुर्याउन सकिन्छ भन्ने कुराको जानकारी गराउन यो नमुना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । आगलागी पश्चात् समयमै आगो निभाउन नसक्दा र घाइते हरुको समयमै उद्दार हुन नसक्दा पनि कतिको जन धनको क्षती हुने समस्यालाई न्यूनीकरण गर्न समुदाय यस सम्बन्धि जानकारी गराउने उद्बेश्यका साथ यो अभ्यास गरिएको उहाले बताउनुभयो ।

नमुना अभ्यास कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, भुमे गाउपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, पुथा उत्तरगङ्गा गाउपालिका अध्यक्ष पुनिराज घर्ती प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधिका साथै स्थानीय नागरिकहरुको पनि उपस्थित रहेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्