नेभिगेशन
समाज

रुकुम पूर्वमा कोरोनाको नयाँ भेरियन्ट रोकथामको लागि छलफल

रुकुम पूर्वमा कोरोनाको नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि छलफल गरिएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा कोभिड व्यवस्थापन समितिको बैठक बसेर बिभिन्न निर्णयहरु गरिएको छ ।

कोभिड १९ महामारी नेपालमा कम हुदै गएपनि विश्वका विभिन्न देशहरुमा देखिएको नयाँ स्वरुपको भेरियन्ट नियन्त्रणका लागि गृह मन्त्रालयको पौष ९ गतेको पत्रानुसार जिल्लामा आवश्यक कार्बाही अघि बढाउने निर्णय गरिएको छ ।

बैठकले जिल्लाका सबै स्थानीय तहहरुमा रहेका आईसोलेशन सरसफाईसहित व्यवस्थित गराउन निर्णय गरेको छ । सार्बजनिक यातायात तथा बढि भिडभाड हुने ठाउँमा मास्क तथा स्यानिटाईजरको प्रयोग गर्ने, सेवा प्रबाह गर्ने निकायहरुमा स्वास्थ्य प्रोटोकोट लागु गर्ने, कोभिड १९ कम गर्न जनचेतनामूलक सामाग्रीहरु प्रकाशन, प्रशारण गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हिरालाल आचार्यले जानकारी दिनुभयो ।

यस्तै बैठकमा ५ वर्ष देखी १२ वर्ष उमेर समूह बालबालीकाको संख्या सबै पालिकाले एकिन गरी स्वास्थ्य कार्यालयमा पठाउने र एकिन संख्याको आधारमा फाईजर खोप आपुर्तीका लागि प्रदेश स्वास्थ्य कार्यालय समक्ष माग गर्ने निर्णय गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । साथै प्रशासनले फैलिदो नयाँ स्वरुपको कोभिड भेरियन्टबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन जिल्लावासीहरुमा आग्रह समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकाय प्रतिनिधीहरुसँगै जिल्लास्थित स्वास्थ्य निकायका प्रतिनिधीहरु लगाएतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज