Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तौलिएर छापा तथा स्याउला वितरण

tribeni2

रुकुम पश्चिम / दैनिक उपभोग्य सामाग्री तथा अन्य किनबेचका वस्तुहरु नापतौल गरेको तपाई हामीले सुन्दै र भोग्दै आएको कुरा हो । रुकुम पश्चिमको एक सामुदायीक वनले पशुचौपायालाई खुवाउने घाँसपात समेत तौल गरेर वितरण गर्ने गरेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका १ मा रहेको बारेको सामुदायीक वन उपभोक्ता समितिले तौलिएर मात्र उपभोक्ताहरुलाई घाँस (छापा तथा स्याउला) वितरण गर्ने गरेको छ । तीन दशक अघिदेखि सुरुवात गरेको उक्त प्रचलनलाई वन समितिले हालसम्म निरन्तरता दिईरहेको छ ।

हरेक वर्षको हिउँद याममा सामुदायीक वनका उपभोक्ताहरुले जंगलबाट ल्याउने दाउरा र घाँस तौलिएर मात्र ल्याउने गरेका छन् । वन उपभोक्ता समितिले बनाएको नियम अनुसार बराबर तौलको दाउरा, छापा तथा स्याउला उपभोक्ताहरुले घरमा लिने गरेका छन् ।

बारेको सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण भाटले सबै उपभोक्ताहरुलाई समान रुपमा घाँस तथा दाउरा लैजाने व्यवस्थाका लागि तौलको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार समितिले हरेक वर्षको हिउँद याममा वन खुलाउने निर्णय गर्दछ । सामुदायीक वनका उपभोक्ताहरुले मात्रै जंगलबाट घाँसपात र दाउरा लिन मिल्ने व्यवस्था रहेको छ । अध्यक्ष भाटले उपभोक्ताहरुले वनबाट दाउरा घाँस ल्याएर फर्किने बेलामा सबैलाई समान पर्ने गरी तौलने गरेको जानकारी दिनुभयो । वनका रुखहरु जथाभावि नकाट्न र सबै उपभोक्ताहरु समान दाउरा, घाँस वितरण गर्न यस्तो गर्नुपरेको वन समितिले जनाएको छ ।

जंगलबाट उपभोक्ताहरुले ल्याएको दाउरा तथा घाँस गाँउ नजिकैको चौतारीनेर तौलने व्यवस्था गरिएको छ । तोकिएको तौल भन्दा बढी भएमा समितिले निकाल्ने गरेको छ । त्यसरी निकालिएका दाउरा, छापा तथा घाँस बिक्रि गरेर समितिले कोषमा जम्मा गर्ने गरेको छ । समितिले दाउरा र घाँस ल्याउनको लागि उपभोक्ताहरुबाट समान शुल्क समेत लिने गरेको छ । यस वर्ष एक जना उपभोक्ताबाट दाउरा र छापा ल्याउनको लागि चार सय रुपियाँ उठाईएको समितिले उल्लेख गरेको छ ।

सामुदायीक वनले २०४८ साल देखि नै यसरी उपभोक्ताहरुलाई दाउरा र घाँसपात तौलने व्यवस्था गरेको हो । वन समितिका तत्कालिन अध्यक्ष भक्तबहादुर भाटले उतिबेला देखि नै चलाएको दाउरा घाँस तौलने प्रचलन हालसम्म पनि कायम रहेको बताउनुभयो । झट्ट सुन्दा अस्वभाविक लागेतापनि वन संरक्षण र उपभोक्ताहरुको समान अधिकारका लागि यो उपाय प्रभावकारी रहेको उहाँको भनाई छ।

बारेको सामुदायीक वनमा १३० उपभोक्ता रहेका छन् । हरेक वर्ष एक पटक दाउरा र एक पटक छापा खुलाउने गरिएको छ । स्थानीय बिमला लामिछानेले सामुदायीक वनबाट दाउरा घाँस ल्याउँदा तौलिएर नै ल्याउने गरेको बताउनुभयो । तौलिएर मात्र घरसम्म लिन पाईने भएकोले वनमा अनावश्यक तथा बढी मात्रामा दाउरा घास काट्ने कार्य नहुने उहाँको भनाई छ । यस कार्यले धेरै दाउरा घास काट्न तथा बोक्ने सक्ने र नसक्नेहरु बीचमा अन्याय हुन नपाएको उपभोक्ताहरुको बुझाई रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्