Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राजकुमार शर्मा : संसदीय यात्राको पहिलो फड्कोमै मुख्यमन्त्री

tribeni2

सुर्खेत / ३८ वर्षअघि विद्यार्थी पृष्ठभूमिबाट राजनीति सुरु गरेका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् । यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख रहेका शर्मा बुधबार २५ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

वर्ग संघर्षबाट राजनीतिमा स्थापित भएका उनी इमान्दार र निडर नेताको रुपमा परिचित छन् । पार्टीका विभिन्न पदमा रहेर काम गरिसकेका उनी संसदीय यात्रामा भने नयाँ हुन् । संसदीय अध्यासको अनुभव नभए पनि उनी संगठन सञ्चालनको अनुभवले पाका मानिन्छन् । रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (२) बाट निर्वाचित शर्मा माओवादी उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । उनी अहिले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुन् ।

२०२८ सालमा जन्मिएका शर्मा चौरजहारी नगरपालिका—१४ साक्चाका टीकाराम शर्मा र यसोधा शर्माका कान्छा छोरा हुन् । प्रतिभा केसीसँग बैवाहिक बन्धनमा बाँधिएका उनी एक छोरीका अभिभावकसमेत हुन् । उनी २०४१ सालमा स्कुल पढ्दापढ्दै अनेरास्ववियुको राजनीतिमा संलग्न भएका थिए । २०५०/०५१ सालमा रुकुम–रोल्पामा सञ्चालित ग्रामीण वर्ग संघर्षको थालनी गर्दै सशस्त्र विद्रोहका बेला पूर्णकालीन कार्यकर्ता भएर लागेको शर्माले बताए । उनले २०४८ सालबाट मोटो मशालको पार्टी सदस्यता लिएर विद्यार्थी राजनीति थालेका थिए । २०५० सालमा महतको फूलबारी जंगलमा ४५ दिने सशस्त्र तालिम गरेर सशस्त्र युद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपूर्ण भूमिका रहेको उनका समकालीनहरु बताउँछन् । उनले नै ०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेलेका थिए भने ०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा पनि उनी सहभागी भए ।

२०५४ देखि ०६१ सालसम्म उनले साविक कर्णालीका विभिन्न जिल्लाहरुको सेक्रेटरीदेखि इन्चार्जसम्मको जिम्मेवारी पाएका थिए । शान्ति प्रक्रियापछि भने थारुवान राज्य समिति (दाङ–कञ्चनपुर)को प्रमुख भए भने ०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरे । उनीसँग माओवादीको केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसकेको अनुभव छ । २०७४ सालमा उनी जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख बने । त्यसबेला उनले सबै स्थानीय तहसँग सम्बन्ध स्थापित गरी विकास–निर्माण र कानुन निर्माणका काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादी जिल्ला संयोजक सचिन रोकाले बताए ।

रुकुम पश्चिमका नागरिक अगुवा गोविन्द केसीले उनको सरल व्यवहार र इमान्दारिता सबैका लागि अनुकरणीय रहेको बताए । ‘पदमा हुँदा र नहुँदा पनि उहाँको जीवनशैली र जनतासँगको व्यवहार सधैं एउटै छ,’ उनले भने, ‘विकल्प दिएर भए पनि आफ्ना कुरामा सबैलाई सहमत गराउने उनको क्षमताले उहाँलाई जिससको सफल प्रमुख बनायो ।’ शर्माले नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको इञ्चार्ज र कर्णाली प्रदेश अध्यक्षको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।

आफूसँग कर्णालीको मुहार बदल्ने र प्रदेशलाई समृद्धिको यात्रामा डोर्‍याउने योजना भएकाले मुख्यमन्त्रीमा दाबी गरेको शर्माले बताए । ‘जनयुद्धको समय र शान्ति प्रक्रियापछि पनि म निरन्तर जनतासँगै छु,’ उनले भने, ‘उहाँहरुको सबै समस्यासँग अवगत छु, अब कर्णालीलाई समृद्ध बनाउन आजैदेखि मेरो अभियान सुरु हुनेछ ।’ - इकान्तिपुरबाट 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्