सोसल मिडिया
२०५४ सालको अन्त्यतिर मेरो सरुवा साबिकको कर्णालीमा भयो । द्वन्द्व उत्कर्षउन्मुख भैरहेको बेला कहिल्यै पाईला नटेकेको र संगठन नै नभएको क्षेत्रमा म जानुपर्ने भयो ।
त्यतिबेला कर्णाली उपब्युरो थियो । त्यस अन्तर्गत कर्णाली नदिले छेकेको वाल्नो भेग कालिकोट, वाल्लो भेग बाजुरा, मुगु कर्णालीको वाल्लो भेग र पुरै जुम्लाको एउटा जिल्ला कमिटी थियो । हामी तीन जना मात्र जिल्ला कमिटीका सदस्य थियौ । तिलक शर्मा, विप्लव र म । त्यहि कमिटीले कर्णालीमा माओवादी आन्दोलनको बिस्तार गरेको हो ।
अलिअलि जनमोर्चाकालका केहि साथीहरु सम्पर्कमा हुनुन्थ्यो । उहाँहरुलाई समेटेर आन्दोलन अगाडि बढायौ । मेरा डिसीयस तिलक शर्मा (हिमाल) हुनुहुन्थ्यो । उहाँ पछि गिरफ्तार पर्नुभयो । त्यसपछि दुई जना मात्रै भयौ ।
२०५८ सालमा हुम्ला, मुगु र बाजुराको केहि एरिया समेटेर एउटा जिल्ला कमिटि बनायौ । जसको नेतृत्व मैले २०६० सालसम्म गरे ।
त्यसपछि हुम्ला र मुगुलाई अलग गरियो । हुम्लातिर अरु साथीहरुलाई जिम्मा लगाएर मैले चाँहि मुगुको नेतृत्व सम्हाले । २०६१ मा दैलेखमा दुल्लु बिद्रोह भयो । अत्यन्त सुझबुझपूर्ण कदम र पार्टीको नीतिबारे जनस्तरमा प्रभाव पार्न सक्ने नेतृत्वको खोजी भयो । पार्टीले मलाई तत्कालै दैलेखको पठायो । त्यसदेखि शान्ति प्रक्रियासम्ममा म दैलेखमा रहे ।
०६३/०६४ तिर म थारुवान तिर झरे । त्यो भनेको कञ्चनपुदेखि दांग सम्मको एउटा क्षेत्र थियो । थारुवान क्षेत्रको प्रचार विभागको जिम्मेवारीमा थिए । त्यससँगै बुद्धिजिवि तथा शिक्षकहरुको मोर्चाको नेतृत्व मैले नै गरे । त्यसपछि म २०६६/
०६७ मा काठमाडौं गए । नेवा राज्यमा रहेर काम गरे । त्यसबेला हामीले क्रमभंग द्धैमासिक सैद्धान्तिक पत्रिका निकाल्यौ । जसको ब्यबस्थापक म आफै थिए । तीन अंक सम्म मात्र निकाल्यौ । गणतान्त्रिक मंच निर्माण भएको थियो । मैले त्यसको पनि नेतृत्व गरे । त्यसपछि कर्मचारी महासंघको सह इन्चार्ज भएर पनि काम गरे । पार्टीले केन्द्रिय प्रचार विभागमा मलाई समेटेपछि म त्यतातिर जिम्मेवारी सम्हाल्न गए । मैले त्यो बेला खास गरेर पुस्तकालय र सूचना केन्द्रको जिम्मेवारी निभाएको थिए ।
२०६८ सालमा म केन्द्रिय समितिमा आए । पार्टी एकताको प्रक्रियामा जानेबेला पोलिटब्युरो सदस्य थिए । नेकपा भैसकेपछि पनि केन्द्रिय समितिमा रहे । त्यसपछि पनि नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य छु ।
यस बीचमा पार्टीको कर्णाली प्रदेशको अध्यक्ष समेत भएर जिम्मेवारी निर्वाह गरे । जनप्रतिनिधिको रुपमा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर कार्यकाल सफलतापूर्वक निर्वाह गरिसकेको छु ।
कर्णालीमा माओवादी
त्यो बेला कर्णालीमा माओवादी बन्नु र बनाउनु चानचुने कुरा थिएन । तीन जना मध्य एक पक्राउ भएपछि दुई जना मात्र थियौ । मैले विद्यार्थीहरुलाई सम्झाउने, बुझाउने, कन्भिेन्स गर्ने, घर घरमा जाने, युवाहरुसँग सहकार्य गर्ने कामलाई तिब्रता दिए । पार्टी आन्दोलनको आवश्यकता, औचित्यता र महत्व बुझाए । उनीहरुलाई आन्दोलनमा प्रेरित गर्न सफल भए ।
शक्ति थोरै, घरघरमा भएर सम्झाएर पनि साध्य नहुने । कसैलाई राज्यले केहि गरिदियो भने ठुलो क्षति हुने डर । स्थिति जटिल थियो । भौगोलिक विकटता थियो । नजिक नजिकमा प्रहरी चौकीहरु थिए । हाम्रो आधार मजबुत थिएन ।
म चैत्रको महिनामा कर्णाली पुगेको थिए । कामको मारामार थियो । खानेकुराको धेरै वास्ता थिएन । दिनभर गोठमा लुकेर बस्ने र रातभर हिड्ने काम हुन्थ्यो ।
बर्षा र हिउँदका अनेकन जटिलता कर्णालीमा हुन्छन् । रातीमा हिड्दा बर्षाको चिप्लो र हिउँदको हिउमा कति लडियो, लडियो । त्यो बेला शौचालयहरु थिएनन् । बाहिरै छाडा दिशापिसाब गरिन्थ्यो । रातीमा हिड्ने बेला लड्दा शरिरमा लागेको दिशा बिहान मात्र थाहा हुन्थ्यो ।
त्यो बेला नुहाउन र कपडा धुन पाउने स्थिति पनि थिएन । प्रहरीले देख्छकि भन्ने डर हुन्थ्यो । गोठमा बस्ने, कोदालो समाउने, खोल्सो भनेर दिशा गर्ने र पुर्ने काम हुन्थ्यो । सकेसम्म किसानको बारीमा काम गरेर सघाउँथ्यौ ।
कसैले दया मानेर ल्याईदिएपछि खाना पाउथ्यौ । नत्र त कति रातदिन भोकै बिताउथ्यौ ।
०५५ तिर रोल्पाबाट एउटा छापामार टिम आयो– ‘छापामार स्क्वाएर’ । त्यसपछि त्यहाँका साथीहरुलाई समावेश गरेर थप अर्को स्क्वाएर बनायौ । अब दुई वटा स्क्वाएर भए ।
संगठनमा साथीहरु जम्मा भएर गाउँ घेरा हाल्थ्यौ । माओवादी गुरिल्ला भनिन्थ्यो त्यो बेला । सिटि हालेर गाउँ घेरा हाल्थ्यौ । सबैलाई एक ठाउँमा जम्मा गरेर हामी आफ्नो परिचय दिन्थ्यौ । माओवादी जनयुद्ध किन ? भन्ने विषयमा प्रशिक्षण दिन्थ्यौ । सिआईडि र सुराकी गर्नुहुन्न भनेर भन्थ्यौ । त्यसो भएमा राम्रो हुदैन भनेर चेतावनी पनि दिन्थ्यौ ।
हामीलाई बस्न र खान दिएर सहयोग गरिदिनुस् भनेर आग्रह गथ्र्यौ । हामी दिनभर उहाँहरुको घरायसी काममा सघाउथ्यौ । यो ढंगले संगठन बिस्तार गरेका हौ ।
चौकी आक्रमणका सफलता
हामीसँग गाउँलेहरु र शिकारीहरुसँगबाट मागेर तथा कब्जा गरेर ल्याएका बारबोर, भरुवा बन्दुक थिए । केहि ग्रिनेट थिए । हामीले कर्णालीमा पहिलो चौकी आक्रमण गर्यौ, कालिकोटको सान्नी त्रिवेणीमा । त्यहाँबाट हामीले एउटा थ्रिनट थ्रि राईफल र चाईनिज माउजर पेस्तोल ल्यायौ ।
हामीसँग आधुनिक हतियारहरु केहि पनि थिएनन् । हाम्रो साहस र कुशल आक्रमण शैलीको कारण चौकी कब्जा गर्न सफल भयौ ।
दोश्रो पटक २०५६ को असारमा, कालिकोटकै पादुंघाट चौकी आक्रमण गर्यौ । त्यहाँबाट ११ वटा थ्रिनट थ्रि राईफल, ११ सय बुलेट, दुईवटा युएस वाला रिभल्बर, लगायतका हतियारहरु कब्जा गर्यौ । मानवीय क्षति भएन । प्रहरी एकजना घाईते हुनुहुन्थ्यो । उहाँको उपचार हामीले नै गर्यौ । प्रहरीहरुलाई कब्जामा लिएर एउटा कोठामा थुन्यौ । चाउचाउ खाना दियौ ।
संयोग कस्तो पर्यो भने त्यो चौकीले जुम्ला आउजाउ गर्ने, त्यो बेलामा हिड्ने सर्वसाधारणलाई धेरै दुःख दिएको रैछ । प्रहरी चौकी नभएपछि जनतालाई ठुलो राहत भएछ । त्यसपछि जनताहरुलाई हामीप्रति थप सकारात्मक धारणा बन्यो । यिनीहरु शक्तिशाली रैछन भन्ने सन्देश दियौ ।
हामीले त्यो भन्दा पहिला आक्रमणको लागि चौकी खोजिराखेका थियौ । रारा हान्ने भनेका थियौ, भागिहालेछ । जुम्लाको एउटा चौकी ताकेका थियौ, त्यसले थाहा पाएर रेक्कि गर्न गएको एक जना साथीलाई गोली हानेर घाईते बनायो ।
हामीले खल्लाघाट हान्ने योजना बनाएका थियौ, चुनावको कारण तयारीको क्रममा भागिहालेछ ।
चुनावपछि मात्र पादुंघाट हानेका हौ । त्यसदिन फल्लाको चौकी पनि त्यहि आएर बास बसेको रैछ । हामीले त्यो कब्जा गरेर हिडेपछि ठुलो उभार आयो । कार्यकर्ताहरु खुल्न थाले । हामी पनि जान्छौ, हामी पनि माओवादी आन्दोलनमा लाग्छौ भन्नेहरु धेरै भए । त्यो बेला हामीलाई थाम्न गाह्रो भयो । त्यो उत्साहले दिएको आनन्दको अनुभूति सदा स्मरणिय नै छ ।
क्रमश ......
(कर्णाली प्रदेश सरकारका नवनिर्वाचित मुख्यमन्त्री शर्मासँग केहि समय अघि गरिएको कुराकानीमा आधारित)
यो पनि पढनुहोस् ....
‘मलाई यदु गौतमले सदस्यता दिनुभएको हो’ - राजकुमार शर्मा