Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था हटाउन यातायात व्यवसायीको माग

tribeni2

काठमाडौँ । यातायात व्यवसायीले ५ पटकभन्दा बढी गल्ती गर्ने चालकको लाइसेन्स ६ महिनाको लागि निलम्बन हुने व्यवस्था हटाउन माग गरेका छन् ।

शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै व्यवसायीले चालकको लाइसेन्स ६ महिनाका लागि निलम्वन हुने व्यवस्था कार्यान्वयन नगर्न माग गरेका हुन् । २०७६ सालदेखिको रेकर्ड हेरी ५ पटकभन्दा बढी गल्ती गर्ने चालकको सवारी चलाक अनुमतीपत्र निलम्बन गर्ने व्यवस्था यही पुस १ गतेदेखि लागु भएको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष डोलनाथ खनालले लाइसेन्स निलम्बनको व्यवस्था अति नै अन्यायपूर्ण र अव्यवहारिक भएको बताउनुभयो । उहाँले सार्वजनिक यातायातमा चालक अभाव भइरहेको तथा बस खाली बस्नुपरेको भन्दै ५ पटकभन्दा बढी गल्ती गर्दा हुने कारबाही र ६ महिनाको निलम्बन कुनै पनि हालतमा सही नभएको टिप्पणी गर्नुभयो । उहाँले सवारी साधन नै होल्ड भएको अवस्थामा भएका चालकलाई समेत कारबाही गरेर निलम्बन गर्ने व्यवस्था कार्यान्वयन नगर्न ट्राफिक प्रहरी कार्यालयसँग अनुरोध गर्नुभयो ।

महानगर यातायात प्रा.लि. वनस्थली र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयुक्त आयोजनामा भएको चालक र सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै महानगर यातायात प्रा. लि.का वरिष्ठ सल्लाहकार धर्मराज रिमालले गम्भीर कसुरमा उचित कारबाही गर्न सकिने तर गल्ती गनेर लाइसेन्स निलम्बन गर्ने कार्य कुनैपनि हालतमा उपयुक्त नभएको बताउनुभयो ।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियमको पूर्ण पालनाले मात्रै दुर्घटना कम गर्न सकिने भएकाले सडक र यातायातको प्रयोगमा चालक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले नियममा बाँधिएर अनुशासित हुनैपर्ने जिकिर गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी उपरिक्षक अवधेश बिष्ट क्षेत्रीले ट्राफिक प्रहरीको कार्य र जिम्मेवारी जानकारी नभएर सबैभन्दा बढी गाली ट्राफिक प्रहरीलाई गर्ने गरिएको भन्दै उहाँले मैत्रीपूर्ण व्यवहार नगर्ने र गल्ती गर्ने प्रहरीबारे उजुरी गर्न अनुरोध गर्नुभयो । उजुरीमाथि छानबिन गरी तत्काल सुधार गर्ने उहाँको प्रतिबद्धता थियो ।

महानगर यातायात प्रा.लि.ले विज्ञप्ति नै जारी गरेर लाइसेन्स खारेजसम्बन्धी व्यवस्थाको कार्यान्वयन तत्काल स्थगित गर्न माग गरेको छ । संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत केशव नेपालले आज एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले गर्न पाउने अधिकतम् १५ सय रुपैयाँको जरिवाना र ५ पटकभन्दा बढी कसुरमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने व्यवस्थाले व्यवसायी र मजदुरलाई अत्यन्त मर्का परेको बताउनुभएको छ । 'जसको कारण मजदुर बेरोजगार हुनुपरेको छ भने हामी व्यवसायीले चालकको अभाव खेपिरहेका छौँ । हामी यो कार्यान्वयन स्थगन होस् भनि सम्बन्धित निकायसँग अनुरोध गर्दछौँ ।' विज्ञप्तिमा भनिएको छ ।

महानगर यातायात प्रा.लिका अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक नियम र कसुर सम्बन्धि व्यवस्थाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथको टोली, अधिवक्ता मनिषकुमार श्रेष्ठ, सिप्रदी ट्रेडिङका तालिम शाखा प्रमुख दिपेश पौडेल, एमएस एण्ड हस्पिटालिटीका प्रमुख सिंहबहादुर मोक्तान लगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणका क्रममा महानगर यातायात प्रा. लि. ले चालक र सहचालकलाई कार्यमूल्यांकन गरी नगदसहित प्रशंशापत्र र सहभागीलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्