राप्ती साहित्य परिषद्को बार्षिक समारोहमा अक्षयकोषको स्थापना, चार स्रष्टा पुरस्कृत

रुकुम पश्चिम । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको १५औं वार्षिक समारोह तथा रुकुम साहित्य मालाको सतवार्षिक कार्यक्रम शनिबार मुसीकोटमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अवसरमा वलबहादुर श्रेष्ठको नाममा अक्षयकोष स्थापना गरिएको छ । स्वग्रीय श्रेष्ठको नाममा १ लाखको अक्षयकोष स्थापना गरिएको परिषद जिल्ला शाखा अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा जिल्लाका चार जना स्रष्टाहरुलाई पुरस्कृत गरिएको छ । शाखाका अध्यक्ष मनलाल ओलीका अनुसार रुकुम साहित्यमाला पुरस्कारबाट बाँफिकोट गाउँपालिका–६ का कर्णबहादुर खत्री ‘आइडिया’, सुमुना÷सुमुन साहित्य अक्षयकोष पुरस्कारबाट बाँफिकोट गाउँपालिका–२ की सहनशिला खत्री पुरस्कृत हुनुभएको हो ।

त्यस्तै मुसिकोट नगरप्रमुख साहित्य पुरस्कारबाट मुसिकोट नगरपालिका १३ का मेगराज खड्का र मुसिकोट नगरपालिका ११ का अमित परियारलाई पुरस्कृत गरिएको छ । त्यस्तै अन्य विभिन्न व्यक्तिलाई शाखामा योगदान पुर्याए बापत कदरपत्र मार्फत सम्मान पनि गरिएको छ ।
कार्यक्रममा शाखाको प्रगति प्रतिवेदन शाखाका जिल्ला सचिव ओमप्रकाश खत्रीले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रमोदकुमार शर्माले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्विनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला शाखा अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव ओमप्रकाश खत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्