Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विकट गाउँमा स्वास्थ्य सेवा दिदै‌ पुथा उत्तरगंगा गाउँपालिका

उपाध्यक्ष स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै
tribeni2

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –१ मैकोटकी सलिना घर्तीले पहिलोपटक गाउँमै भिडियो मार्फत गर्भ जाँच गराउनपाउँदा दंग पर्नुभयो । भिडियो एक्सरे मेशिन सहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भ जाँच गर्दा घर्ती खुशि हुनुभयो ।

३५ हप्ता ६ दिन पुगेको गर्भ पहिलो पटक भिडियो एक्सरे मार्फत जाँच गराउनुभएकी घर्तीलाई घर आँगनमै यसरी सेवा पाउँदा भन्ने लागेको थिएन । घरदैलोमै सेवा दिने सरकारको कार्यक्रमले असाध्यै सजिलो बनाएको उहाँले बताउनुभयो ।

पुथा उत्तरगंगा गाउँपालिका –२ की जोगनसरा बि.क.ले पनि आफ्नो पहिलो गर्भजाँच गाउँमै आएको चिकित्सकहरुको टोलीसँग गराउनुभयो । ‘भिडियो एक्सरे गरेर गर्भ जाँच गर्न पाँए,’ बि.क.ले भन्नुभयो, ‘कुन कुन बेला के गर्ने के नगर्ने भनेर पनि सिक्न पाए ।’ नियमित गर्च जाँच, खानेकुराहरुको व्यवस्था लगायतका कुराहरु गाउँमा आएको स्वास्थ्य टोलीले सिकाएको उहाँले जनाउनुभयो ।

पुथा उत्तरगंगा गाउँपालिकाले संचालन गरेको उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ लिएर गाउँगाउँमा गर्भवती खोज्दै जनप्रतिनिधि, चिकित्सक र स्वास्थ्यकर्मी दुर्गम गाउँमा पुग्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, डा. मिलन मल्ल, स्वास्थ्य शाखा प्रमुख समिर गिरी सहितको टोली गर्भवती महिलाहरुको जाँच गर्दै गाउँगाउँमा पुगेको हो ।

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम समाबेश गरेर बजेट समेत बिनियोजन गरेको बताउनुभयो । दुर्गम गाउँहरुमा नजिकमा स्वास्थ्य सस्था नहुने, गर्भजाँच झनै न्युन मात्रामा हुने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो । जनताको नजिकको सरकार हुनुको नाताले उहाँहरुको स्वास्थ्यसँगै अन्य सवालमा साक्षात्कार गर्न पनि यस कार्यक्रमले टेवा पुर्याईरहेको उहाँको भनाई छ ।

‘कतिपयलाई नियमति गर्भजाँच बारे थाहै छैन, भिडियो जाँच सेवा त झन् परको कुरा भयो,’ उपााध्यक्ष बुढाले भन्नुभयो, ‘गर्भवती दिदिबहिनी, आमाहरु खोजेर स्वास्थ्य जाँच गर्दै जाँदा कार्यक्रम एकदमै प्रभावकारी भईरहेको छ ।’ स्वास्थ्य सुविधाको अभावमा गर्भ जाँच गर्न नपाएर आमा र बच्चाको ज्यान जोखिममा नपरोस् भनेर यस्तो कार्यक्रम गरिएको हो । गाउँपालिकाले चालु वर्षमा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमका लागि १० लाख रुपियाँ बिनियोजन गरेको छ ।

गाउँ सभाले पास गरेको सहिद स्मृति कार्यक्रम अन्तर्गतको उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रमको लागि नीति, कार्यविधि र निर्देशिका बनाएर, कर्मचारी व्यवस्थापन गरेपछि करिब दुई महिना पहिला यो कार्यक्रम गाउँगाउँमा सुचारु भएको हो । गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम मार्फत गाउँ पुग्नुभएका डा. मिलन मल्लले अधिकांश गर्भवती महिलाहरुले गर्भजाँच नै गराएर घरमै सुत्केरी हुने गरेको पाईएको बताउनुभयो । करिब ४० प्रतिशत गर्भवतीले मात्र स्वास्थ्य सस्थामा सुत्केरी गराउने गरेको उहाँले उल्लेख गर्नुभयो ।

डा. मल्लले दुई महिना यता गाउँपालिकाको १४ वटै वडामा पुगेर १२१ जना गर्भवतीहरुको भिडियो एक्सरे, स्वास्थ्य जाँच र परामर्श सेवा दिएको जानकारी दिनुभयो । ‘केहिको अवस्था नर्मल नै छ,’ डा. मल्लले भन्नुभयो, ‘बच्चा उल्टो अवस्थामा रहेको, सालनाल तल झरेको पनि भेटिएकोले सुत्केरी हुने बेलामा सुविधासम्पन्न अस्पतालमा जान परामर्श दिएका छौ ।’ गर्भावस्थामा पुर्याउनु पर्ने ध्यान, खानपान, हेरविचार लगायतका कुरा सिकाएर आवश्यकता अनुसार केहि औषधीहरु पनि गर्भवतीहरुलाई दिईएको छ ।

यसै कार्यक्रमबाट १५० जना महिलाको निशुल्क स्वास्थ्य बीमा समेत गरिएको डा. मल्लले जनाउनुभयो । स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच गरेमा मात्र निशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकोले स्वास्थ्य सस्थामा आउनेहरुको संख्यामा बृद्धि हुने विश्वास उहाँले गर्नुभयो ।

गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य सस्थामा छोरी जन्मेमा निशुल्क बीमा गरिदिने व्यवस्था गरेको छ । गर्भ जाँच गराएको वर्ष र स्वास्थ्य सस्थामा छोरी जन्मेको वर्षमा गाउँपालिकाले परिवारका पाँच जना सदस्यको निशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ । यस कार्यले स्वास्थ्य सस्थामा सर्वसाधारणहरुको पहुँच बृद्धि गर्ने देखिएको छ ।

यसका साथै यस कार्यक्रमले घरेलु हिंसा, लैङिगक हिंसा, यौन हिंसामा परेकाहरुको लागि चेलीसँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसका लागि गाउँपालिका उपाध्यक्षसँग सिधा सम्पर्क हुनेगरी हटलाईन नम्वर सेवा सञ्चालन भएको छ भने थप परामर्श तथा आर्थिक सहयोगका पनि गर्न सकिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्