योगको चर्चा र अभ्यास गर्दै रुकुम पुर्वमा योग दिवस मनाईयो

२०७९ माघ २

रुकुम पूर्वमा ८ औं राष्ट्रिय योग दिवस मनाईएको छ ।

“स्वस्थ जीवनको चाहना, योग, शिक्षा र साधना” भन्ने नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वको आयोजनामा जिल्लाको सिस्ने गाउँपालिका –५ मा रहेको कमलताल छेउमा विभिन्न योग अभ्यास र योगको बारेमा चर्चा गरेर गरी दिवस मनाईएको छ ।

कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख योगीराज आचार्य र प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना, परियोजना ईकाइ कार्यालयका प्रमुख मित्रलाल पौडेलले योग तथा आसनको अभ्यास गराउनु भएको थियो ।

मानव शरीर स्वस्थ राख्नका लागि आवश्यक योग कसरी गर्न सकिन्छ भन्ने बारेमा बिभिन्न आसनहरुको करिब २ घण्टा अभ्यास गराईएको थियो । प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहोन बहादुर के.सी.को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी के.सी.ले देशको समृद्धिका लागि योग आवश्यक रहेको बताउनुभयो । ‘हरेक नागरिक स्वस्थ रहेमा मात्र कडा र असल काम गर्न सक्छ,’ के.सी.ले भन्नुभयो, ‘यदि मानव स्वास्थ्यले नै साथ दिएन भने देश विकास असम्भव रहेको छ ।’

प्रमुख जिल्ला अधिकारी सुनुवारले सकारात्मक ऊर्जाबाट मानव जीवनमा थप ऊर्जा थप्ने साधना योग साधना भएकोले यसको निकै महत्व रहेको बताउनुभयो । योग मानव स्वास्थ्यसँग सम्बन्धित रहेकोले पनि शरीर स्वस्थ राख्नमा योग आवश्यकता रहेको उहाँले बताउनुभयो ।

उहाँले यौगिक जीवनको सुरुवात गर्न पनि सबैलाई अनुरोध गर्नुभएको छ । कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्