सोसल मिडिया
रुकुम पूर्व / रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा स्वास्थ्य चौकी आधारभूत अस्पतालमा स्तरोन्नती गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर १० मा रहेको तकसेरा स्वास्थ्य चौकीलाई आइतबार एक कार्यक्रमका बिच ५ शैयाको आधारभूत अस्पतालमा स्तरोन्नती गरिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार आधारभुत स्वास्थ्य सेवा गाउँमै दिने उद्देश्यले तकसेराको स्वास्थ्य चौकीलाई आधारभुत अस्पतालमा स्तरोन्नती गरिएको हो ।
पालिकास्तरको यो अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक (एमबीबीएस) रहने व्यवस्था गरिएको छ ।
स्वास्थ्य शाखा प्रमुख समिर गिरीका अनुसार आधारभुत अस्पतालमा स्वास्थ्य चौकीको सेवा माथी साधा एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला सेवा, इमरजेन्सी सेवा र विरामी भर्ना सेवाहरु थप गरिएको छ । यस्तै अस्पतालमा लगत्तै स्वास्थ्य बिमा सेवा पनि सुचारु हुने छ ।
अस्पतालको उद्घाटन गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर र उपाध्यक्ष भुपेन्द्रा बुढा मगरले संयुक्त रुपमा गर्नुभएको थियो भने सेवाको शुभारम्भ ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेर गरिएको हो ।