विप्लव

काठमाडौंका विभिन्न ठाउँमा बम विष्फोटः ४ जनाको मृत्यु, कैयौं घाईते

बम बनाउने सामाग्रीसहित विप्लवका कार्यकर्ता पक्राउ
काठमाडौं १२ जेठ ।

काठमाडौंका विभिन्न स्थानमा आईतबार साँझ बम विष्फोट हुँदा ४ जनाको ज्यान गएको छ । बम विस्फोटमा परी सुकेधारमा तीन जना र अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुकेधारामा भएको विष्फोटमा एक जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । अनामनगरको घट्टे कुलोमा भएको विष्फोटमा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम बनाउने क्रममा विष्फोट भएर नेकपाकै कार्यकर्ताको मृत्यु भएको खुलेको छ । सुकेधारा विष्फोटमा तीन जना र घट्टेकुलोमा एक जना घाईते छन् । बम विष्फोटमा घाइते नेकपा निकट नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले बम बनाउने क्रममा विष्फोट भएको बयान दिएका छन् । सुकेधारा विष्फोटमा मृत्यु हुनेमा प्रज्वल शाही रहेका छन् ।

घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको घरमा विस्फोट हुँदा नेत्रविक्रम चन्द विप्लव नेकपा निकट अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस इकाइ सभापति रविन केसी घाइते भएको प्रहरीले जनाएको छ ।

सुकेधारा विस्फोटका घाइतेको ओम अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा काभ्रे घर भइ सुकेधारा बस्ने वर्ष ४४ का हरि खड्का र सैलुन सञ्चालक जीत कुमार ठाकुर रहेका छन् । सुकेधारामा पनि घट्टेकुलोकै जस्तै एउटा शैलुन नजिकै छाप्रोभित्र विस्फोट भएको हो । घट्टेकुलोमा विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

ललितपुरको लगनखेलमा पनि कुकर बम भेटिएको छ । प्रहरीले लगनखेल बसपार्कमा भेटिएको वम डिस्पोज गरेको छ । यस्तै ग्वार्को चोकमा भेटीएको बम पनि डिस्पोज गरिएको छ ।

प्रहरीले काठमाडौंको कोटेश्वरबाट बम बनाइरहेका विप्लवका ६ जना कार्यकर्तालाई पक्रेको छ । नरेफाँटबाट आशिष तामाङ, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्ले, चित्रकमल ओली र अर्का एकजना लाई पक्रेको प्रहरीले जनाएको छ ।

यस्तै चन्द्रागिरीमा आफैले बोकेको बम पड्केर २ जना घाईते भएका छन् । चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएर आकाश लामा र अर्का एक जना घाइते छन् ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापाले राजधानीमा भएका विस्फोटपछि उच्च सुरक्षा सतर्कता अपनाउन तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री बादलले तीन वटै सुरक्षा निकायको आकस्मिक बैठक बोलाएर हाई अलर्टमा रहन निर्देशन दिएका हुन् । अहिले राजधानीमा थप जनशक्ति परिचालन गरि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्