सोसल मिडिया
कहाँ सजिलो छ र पेल्मा पुग्न । रुकुम (पूर्वी भाग) हिमाली जिल्लाको सदरमुकामदेखि झन्डै दुई दिन पैदल यात्रामा पुगिन्छ पेल्मा गाउँ । करिब हजार वर्ष पुरानो इतिहास बोकेको पेल्मा गाउँको प्राकृतिक स्रोत र साधनको धेरै पुस्ताले उपभोग गरिरहेको छ ।
यस्ता गाउँहरु धेरै होलान् जहाँ बस्ने सायद धेरैको जीवन सुख र सहर कस्तो हुन्छ भन्ने थाहा नपाई बित्छ । बिभिन्न जातजातिहरुको संगम रहेको पेल्मा गाउँमा करिब एक सय जति घरपरिवार बसोबास गर्छन् । गाउँमा कुरीति कुसंस्कार हुन्छ भन्ने धेरैको भोगाइ हुन्छ । पेल्मा गाउँमा छुवाछूत अन्त भइसकेको छ ।
प्राकृतिक सौन्दर्यको हिसाबले धर्तीको स्वर्ग जस्तै यस गाउँको विशेषता अन्य कुनै गाउँको भन्दा केही अनौठो छ । जनताका समस्यालाई कोट्याउन मान्छेहरु विरलै पुग्छन् । पुग्छन त, केही स्वदेशी र विदेशी पर्यटकहरु र जोगाउँ वस्तीका तस्वीर खिचेर फर्किन्छन् । बाध्यताले कर्मचारीहरू निर्वाचनको वेला मतपेटिकाको ढ्वाङ लिएर भोट थाप्न पुग्छन् । त्यति बेला गाउँमा ठूलै चाड आए जस्तो हुन्छ । पेल्मा घुम्न आएकाहरुलाई स्थानीय खाना त्यति रुची हुन्न । मकैको रोटीको स्वाद र अन्य रैथाने परिकार बाहिरबाट आउने मान्छेहरु उति रमाउँदैनन् ।
स्थानीय भुक्तभोगीहरू सुनाउँछन्, जनयुद्धकालको बेला पेल्मामा निकै चहलपहल थियो । त्रास र उत्साह पनि थियो । त्यो बेला यस गाउँमा जनसरकार थियो । अहिलेको ठूला मान्छे भनेका वडाध्यक्ष हुन् । कर्मचारी भनेका कार्यालय सहयोगी सरहका मात्र छन् । पेल्मामा जनप्रतिनिधिसँग छलफल गर्ने क्रममा मायाधन कामी भन्छिन्‚ ‘आफू महिला वडा सदस्यमा निर्वाचित भए तर कसरी भए आफैंलाई थाहा छैन ।’
पेल्मा यति विकट छ कि, अन्य ठाउँमा विकल्प हुनेहरुले पेल्मालाई लामो प्रेम गर्दैनन् । उनीहरू जान्छन्, फर्केर आउँदैनन् । तर यहिँका धर्तीसन्तानहरू भने सुख दुःखमा पेलिएरै भए पनि पेल्मालाई पेवा ठान्छन् । पेल्माबासीहरुको नजिकको सहर भनेकै मैकोट हो अनि ढोरपाटन हुँदै जाने वुर्तिवाङ बजार हो । धर्मराज पुनले आफू उमेर छँदा कुनै समय बासँग खलंगा र मुसीकोट सबै पैदलै हिँडेर पुगेको सम्झना सुनाए । आलुको परिकार वाक्क लाग्दा चामलसँग विनिमय गर्न तीन दिन धाएर वुर्तिवाङ्ग पुगेको याद छ । अहिले त ढोरपाटनसम्म गाडी आउँछ । नयाँ पुस्ताले त्यति धेरै दुःख गर्नु पर्दैन ।
स्थानीयहरू पेल्मामा गाडी आउला भन्ने त कल्पना मात्र होला भन्छन् । उनीहरु सरसामान किन्न पैताला खियाउँदै मैकोट र तकसेरा पुग्छन् । तर अचाक्ली महँगीले मन कुड्याउँछ । नजिक बजार भए पनि टाढा जाँदा दुई पैसा बच्छ । टाढा जानु परेमा घोडा खच्चरको सहायता लिएर जानुपर्दछ ।
पेल्मा गाउँ जाने बाटो
पेल्मालीहरुसँग कति दुःख छ भनेर बुझ्न वीरमान कामीको कथा सुने पुग्छ ।उनले सुनाए, ‘श्रीमती विरामी परिन् हेलिकप्टरमा लैजाने पैसा छैन ।दुई दिन लाएर घोडामा हालेर वुर्तिवाङ्ग अस्पताल पुर्याए । धन्न बाँचिन ।’
पेल्मामा टेलिफोनको टावर टिप्दैन। त्यसैले जेनतेन धन जुटाएर हेलि बोलाउँछु भन्नेले पनि सम्पर्कको लागि टेलिफोन टावर लाग्ने ठाउँसम्म पुग्दा विरामीको अवस्था नजाती भईसक्छ । केही स्थानीयले गाउँमा टेलीफोनको टावर टिप्ने होला भनेर मोबाईल पनि किनेर राखेका रहेछन् । तर त्यो मोबाईल गीत सुन्न मात्रै काम आएको रहेछ ।
वीरमानकी दिदी आशु विकको कथा उस्तै छ । पैसा कमाएर परिवारलाई सुख दिने भनेर मुग्लान लागेका श्रीमान् चीन (तिब्बत) तीर नै सुतेकै ठाउँमा मृत्यु भयो भन्ने खबर आयो । जीवनमा नसोचेको खबर आउँदा उनलाई धर्ती भासिए जस्तो भयो । यो गाउँलाई छोडेर जाउँ भने तीन जना सन्तान छन् । कसरी पाल्ने भन्ने ठूलो चिन्ता छ । उनले श्रीमान् बितेपछि घोडाले समेत हेप्न थालेर बेलाबेलामा बुरुक्क उफ्रिने गरेको बताईन् ।
पेल्माबासीहरूको सामूहिक छलफल
स्थानीय ललिता पुनलाई पेल्मामा गाडी आएको हेर्न मन छ । तर यतिका वर्ष बितिसक्यो । उनको बचपन हुँदै जवानी सकियो । अहिले जीवन डुब्न लागेको घाम जस्तै भयो । तर उनको प्रश्न अनुत्तरित छ।
परिवर्तन गर्छु भन्ने र केही अगुवाहरुलाई पेल्माका समस्याहरु सामान्य लाग्छ । जनताका नजिकका सरकार भनिने स्थानीय सरकारको अहिले पाँच वर्ष पुरा भई अर्को कार्यकाल सुरु भएको छ ।पेल्मामा ठूलो सरकारी निकाय वडा कार्यालय हो । गाउँका जे समस्या भए पनि वडाध्यक्षलाई सुनाउने हो ।
सरकारले दिगो विकासको नीति ल्याएको छ । यसको अर्थ विकासमा कोही छुट्नु हुँदैन, विकासको फल सबैले पाउनुपर्छ भन्ने हो । तर पेल्मा पुगेपछि पेल्मालाई यस नीतिले छुन्छ र भन्ने प्रश्न मनमा बारम्बार उब्जिन्छ ।
पेल्मामा आठ कक्षा सम्म मात्र पढ्न पाईन्छ । थप पढ्नु परेमा दिनभरि लाएर मैकोट वा दुई दिन लाएर तकसेरा जानुपर्छ । बाटोमा खच्चड खेदाउँदै गरेका रामुभाईले खर्च झेल्नु पर्ने भएर पनि आफू पढाई छाडेर खच्चड खेद्न थालेको बताए । उनका बुबाले भनेको रे ‘पढ्यो लेख्यो कुची काम हलो जोत्यो खायो माम’ ।बाबुको भनाईले पनि उनलाई पढ्न मन लाग्दैन । नजिक विद्यालय भएको भए त आफूले एसईईसम्म्म पढथे कि भन्ने अनुमान उनी सुनाउँछन् । उनलाई पढ्न नपाएकोमा ठूलो चिन्ता छ । तर अब त व्यवहारमा फसियो अर्को जुनीमा होला भनेर उनी चित्त बुझाउँछन् ।
पेल्माका घरहरू
पेल्माका स्थानीयहरु सरकारी जागिरे छैनन् । बाहिरबाट आएका कर्मचारीहरु पनि बढुवाको लागि अंक जोड्न वा आफ्नै चाँजोपाँजो मिलाउन आउँछन् भन्ने स्थानीयको बुझाई छ । किनकी उनीहरुले कार्यालय सहायकले वडाको सबै काम गरेको देखेका छन् । वडा सचिवको दरबन्दी कहिल्यै पुरा नहुँदा चाहिएको बखत सेवा नपाएको अबस्था भोगेका छन् ।
पेल्मामा पिउने पानीको त्यस्तै समस्या छ । मुहान टाढा छ । खानेपानी तथा सिंचाई डिभिजन कार्यालयले पिउने पानी र सिंचाईको लागि सुरु गरेको आयोजना दुई वर्ष बितिसक्दा पनि अझै पुरा भएको छैन। विकास निर्माणका कामहरु जाडोमा सिमेन्ट नै जोडिन्न । वर्षामा पानीले काम गर्न दिँदैन । त्यसैले यो आयोजना कहिले टुंगिने हो कसैलाई थाहा छैन ।
स्थानीय उत्पादन भएर होला विद्युत्को समस्या त्यति छैन । औंशीको रातमा जुनकेरीले बत्ती बाले जस्तो पेल्मामा राती झलमल हुन्छ । फिरीमायाको फूपू भदैनीलाई डिस होम राखेर दोहोरी गीत र इन्द्रेणी कार्यक्रम हेर्दै छमछम नाचेको हेर्न खुब काम दिएको छ ।
पेल्मामा राम्रैसँग स्याउ फल्छ । विदेशमा जस्तो फ्रिज चाहिन्न । प्रकृतिले नै सिंगो गाउँलाई चिस्यान केन्द्र बनाईदिएको छ । स्याउ र आलु माटोमुनी राखे पुग्छ । साउन भाद्रको समयमा त्यही स्याउलाई टिप्यो काट्यो सुकायो ।केहीको सुकुटी बनायो केहीको जुस । जाडो गर्मीमा त्यही पियो जीन्दगीमा चलिहाल्छ भन्छन् स्थानीयहरु ।
वडा अध्यक्ष जसबहादुर श्रीपालीले मुस्ताङको मार्फा जस्तै स्याउको रक्सी उत्पादन गर्ने नसोचेका पनि होईनन् । उनले सुनाए, ‘त्यसैको लागि धाएर मुस्ताङ गईयो तर बनाउने मेसिन तीसदेखि चालिस लाख पर्ने रहेछ । वडाको बजेटले धान्न सक्ने कुरै भएन’। उनको चाहाना संघीय र प्रदेश सरकारले त्यो जडान गरे देखि स्याउको ब्राण्डी बनाई जनताले खच्चडमा राखेर रुकुमकोट, ढोटपाटन र वुर्तीवाङसम्म पुर्याउदा गर्जो टार्ने पैसा हुन्थ्योकी भन्ने छ । तर यी कुरामा कसैको चासो देखिन्न ।
पेल्मा गाउँमा टिमुर खुर्सानी पिस्दै महिला
पेल्माको सिंगो गाउँ ढोरपाटन शिकार आरक्ष भित्र परेकोले सबैलाई काँडे तारको जाली भित्र बस्नु परेको अनुभूति छ ।रुकुम पूर्वको चार ब्लकमा सरकारले आरक्ष भित्र शिकार खेलाएर आम्दानी लिन्छ तर त्यसको कुनै हिस्सा स्थानीयले पाउँदैनन् । स–सानो काम गर्न पनि स्थानीयहरु आरक्षले केही पो गरिहाल्छ कि भनेर डराउँछन् ।
शिकार आरक्ष भित्र बस्ती परेकोले बराजुको पालादेखि घाँस, दाउरा गर्ने, कन्दमुल खोज्न जान पाईन्न जानु परे पनि पुर्जी काट्नु पर्छ । उनीहरुले गाउँको पुनः सिमाङ्कन होस भनि धेरै ठाउँ धाए । तर कुनै सुनुवाई भएन ।
यस्ता पेलिएका बस्तीहरु पेल्मा मात्र हुन त ? जनयुद्धको राजनीतिक लहरमा पेल्माबासीलाई सबै गाउँको मुहार नै फेरिन्छ जस्तो लाग्दथ्यो । अहिले प्रणाली फेरिएको छ । पेल्माहरु बाहेक धेरै कुरा फेरिए होलान् तर पेल्मा बस्तीमा रहेका घरको छाना बाहेक केही फेरिएनन् । कसैलाई पछाडी पार्नुहुँदैन भन्ने सरकारको पनि सपना छ ।सन् २०३० मा दिगो विकासको लक्ष्य हासिल गर्ने नीति तय गरेको छ । तरपेल्मालीहरुले भोगेको अभाव र पीडाको अन्त गरेर मात्र सरकारको नीति र पेल्माबासीको सपना पुरा हुन्छ ।
(लेखक जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)का प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ) - इकान्तिपुरबाट