Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा साताव्यापी रुपमा मनाईयो सशस्त्र प्रहरी दिवस

२०७९ माघ १३
tribeni2

सशस्त्र प्रहरी बलको पाँचौ स्थापना दिवस रुकुम पूर्वमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रुकुम पूर्वले साताव्यापी रुपमा सरसफाई र मञ्चको कार्यक्रम गरी मनाइएको हो । यहि माघको ४ गतेबाट सिस्ने गाउँपालिका ५ र ६ स्थित विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाईको कार्यक्रम गरेको आश्रीत गुल्म रुकुम पूर्वले बिहिबार कार्यालय परिसरमा औपचारिक कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।

संघियता कार्यान्वयनपछि नयाँ स्थापना भएको यस जिल्लामा सदरमुकामको विवादपछि यहाँको शान्ति सुरक्षालाई कायम गर्न २०७४ माघ १२ गतेका दिन सशस्त्र प्रहरी जिल्लामा आएको थियो । रुकुम पूर्वमा त्यसै दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको ठुलो भूमिका हुने गरेको बताउनुभयो । रुकुम पूर्वमा पनि सशस्त्र प्रहरी बल आश्रीत गुल्मले आफ्नो पाँचौ स्थापना दिवस मनाउदै गर्दा जिल्लाको शान्ति सुरक्षालाई कायम राख्न, विपदको समना गर्नेदेखि लिएर स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम पूर्वले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो ।

आगामी दिनमा पनि यसरी नै जिल्लाको शान्ति सुरक्षा र सुव्यवस्थालाई कायम राख्न तथा विपदको प्रतिकार्यमा प्रतिबद्ध भएर काम गर्न अग्रसर हुन प्रजिअ सुनुवारले आग्रह गर्नुभयो । स्थापना दिवसको अवसर पारी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने, चुनावको बेलामा विकट क्षेत्रमा खटिएर उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत तथा सम्मान गरिएको छ । विभिन्न माध्यामबाट संगठनको हितको लागि सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी बल आश्रीत गुल्म रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक रविन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको प्रमुख र सशस्त्र प्रहरी बल गुल्म ४७ औ रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक गोविन्द केसीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, नेपाली सेनाका उप सेनानी विजय ठकुरी, नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खत्री लगाएत जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम पूर्वका प्रहरी सहायक निरीक्षक वासुदेव गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०८:०१
प्रतिक्रिया दिनुहोस्