Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाको सामुदायीक वनमा आगलागी

लामो समयको खडेरीको कारण डढेलोको जोखिम उच्च
२०७९ माघ १६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –१० बाछिगाउँमा रहेको साजवा सामुदायीक वनमा शनिबार आगलागी भएको छ । सामुदायीक वनको तीन हेक्टर क्षेत्रमा आगलागी भएको हो ।

डिभिजन वन कार्यालय रुकुमपूर्वका कार्यालय प्रमुख जितेन्द्र खड्काका अनुसार दिउँसो २ बजे वनमा लागेको डढेलो बेलुका ६ बजे नियन्त्रणमा लिईएको थियो । वन कार्यालय अन्तर्गत हुकाम मैकोट सव डिभिजन कार्यालयका कर्मचारी र सामुदायीक वन उपभोक्ता समितिका उपभोक्ताहरुको संयुक्त प्रयासबाट आगलागी नियन्त्रणमा लिईएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । उहाँले वन क्षेत्रमा हुने डढेलोले निम्त्याउन सक्ने ठुलो खतरालाई कुशलतापूर्वक सफलता हाँसिल गरिएको जनाउनुभयो ।

वनमा डढेलो लाग्दा करिब तीन हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको छ । समयमै वनको ठुलो क्षेत्रमा हुने डढेलो नियन्त्रणमा लिन सकिएको डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले जानकारी दिनुभयो । सामुदायीक वन क्षेत्रको खाली भूभागमा आगलागी भएको र जडिबुटी तथा अन्य वन क्षेत्रमा आगो फैलना नपाएको बताईएको छ ।

आगलागीको सूचना लगत्तै डिभिजन वन कार्यालयका प्रमुख सहितको टोली घटनास्थल पुगेको र सव डिभिजन कार्यालयलाई आवश्यक बन्दोबस्तीका थप सामाग्रीहरु प्रदान गरिएको केसीले उल्लेख गर्नुभयो । आगलागी किन र कसरी भयो भन्ने बिषयमा अनुसन्धान भैरहेको बताईएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख खड्काले लामो समयसम्मको खडेरीले वन डढेलोको सम्भावना उच्च रहेको बताउनुभयो । उहाँले सबैतिर डढेलोबाट जोगिन समयमै सजक रहन अनुरोध गर्नुभयो । “हामी जिल्लामा जिल्लास्तरीय डढेलो नियन्त्रण रणनीति तयार गर्दैछौ” प्रमुख खड्काले भन्नुभयो, “तयारी हुने बित्तिकै कार्यान्वयनतर्फ लैजाने छौ ।” एक हप्ता भित्र जिल्लाको सुरक्षा निकायसँगको समन्वयमा डढेलो नियन्त्रण रणनीति बनाईने खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्