Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखिकरण

२०७९ माघ १६
tribeni2

रुकुम पूर्वका शिक्षकहरुको लागि आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले जिल्लाका तीन वटै गाउँपालिकाका शिक्षकहरुको लागि दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । सोमबार र मंगलबार चल्ने अभिमुखीकरण कार्यक्रममा तीन वटै गाउँपालिकाका १५ जना शिक्षकहरुको उपस्थिती रहेको छ ।

अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षकहरुलाई योगको महत्व, यसका फाइदा, योग गर्दा ध्यान दिनुपर्ने कुराहरुसँगै आयुर्वेद उपचार पद्धतीको बारेमा जानकारी गराइएको छ । योगको बारेमा जानकारी सँगसँगै योग अभ्यास पनि गराइएको छ । बिहान ७ बजेबाट १० बजेसम्म यो कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्रको अफिस रहेको घरको छतमै सञ्चालन भइरहेको छ । पहिलो दिन आज कार्यक्रममा भास्त्रिका प्रणायाम, सुक्ष्म व्यायाम, कपालभाती, नाडी सोधन प्रणायाम, अनुलोम विलिन प्रणायाम, भ्रामरी प्रणायाम, सुर्य नमस्कार, अष्टाङ्ग योग लगाएतको बारेमा जानकारी सँगसँगै अभ्यास गराइएको छ ।

आजको अभिमुखीकरण कार्यक्रमलाई उद्ध्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले योग र आयुर्वेद उपचार पद्धतीले मानिसलाई स्वस्थ राख्ने बताउनुभएको छ । हाम्रै माझमा थुप्रै खालका जडीबुडी भएपनि त्यसलाई चिन्न र प्रयोग गर्न नसक्नु भने दुखद कुरा रहेको उहाँले बताउनुभयो । सीप तथा ज्ञान पछिल्लो पुस्तामा हस्तान्त्रण हुन नसक्दा पनि परम्परागत चिकित्सा पद्धती हराउदै गएकोमा दुख व्यक्त गर्नुभयो ।
रुकुम पूर्व जडिबुटीको धनी जिल्ला भएपनि यहाँको जडिबुटीलाई संकलन, प्रशोधन र प्रयोग गर्न नसकिएको बताउदै उहाँले त्यसतर्फ पनि ध्यान दिनुपर्ने भनाई राख्नुभयो । पछिल्लो समयमा आयुर्वेद योगलाई राज्यले केहि विस्तार गर्न खोजेको भन्दै यो कुरा सकारात्मक रहेको र यसले मानव स्वास्थ्यलाई धेरै फाइदा गर्ने बताउनुभयो ।

शिक्षकहरुसँग अभिमुखीकरण कार्यक्रम गर्दा अझ थप प्रभावकारी हुने अपेक्षा राखेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख विष्णुहरी आचार्यले बताउनुभयो । विभिन्न चरणमा विद्यालयमा र समुदायस्तरका मानिसहरुलाई बोलाएर अभिमुखीकरण कार्यक्रम र योग अभ्यास गराउदै आएको पनि उहाँले बताउनुभयो । विस्तारै यस जिल्लाका मानिसहरु पनि आयुर्वेद स्वास्थ्य उपचारतर्फ आकर्षित हुँदै गएको उहाँको भनाई छ ।

गएको आर्थिक वर्षमा रुकुम पूर्वमा कार्यालय स्थापना गरिएको थियो । कार्यालय स्थापना भएयता कार्यालयबाट आठ सय भन्दा धेरै नागरिकले आयुर्वेद सेवा लिएका छन् । यस्ता अभिमुखीकरण कार्यक्रमले मानिसलाई ऋतुअनुसारको जीवनयापन गर्न मदत पुग्ने र यसले स्वास्थ्यलाई फाइदा हुने प्रमुख आचार्यले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्