Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाउँमै पुगेर जेष्ठ नागरिकलाई भत्ता वितरण

२०७९ माघ १६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकको सहज पहुँचमा नरहेका लाभग्राहिहरुलाई मध्यनजर गर्दै विभिन्न वडाहरुमा पुगेर भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बैंक भन्दा टाढा रहेका वडाका विभिन्न टोलहरुमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको बताउनुभयो । बैंकका प्रतिनिधिहरुलाई साथमै लिएर भत्ता वितरण गरिएको हो ।

बिशेष गरेर जेष्ठ नागरिकहरु बैंकसम्म आउन कठिनाई भैरहेको गुनासोका आधारमा सम्बन्धित बैंक मार्फत गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो । गाउँमै भत्ता पाउँदा जेष्ठ नागरिकहरु खुशि भएको समेत उहाँको भनाई रहेको छ ।

गाउँपालिकाको एम.आई.एस. अपरेटर तथा पञ्जिकरण शाखा प्रमुख नारायण ओलीका अनुसार वडा नम्बर ४, ५, ६, १० र ११ मा गाउँमै भत्ता बितरण गरिसकिएको छ भने १ र २ मा वितरणको काम भैरहेको छ । गाउँपालिका अध्यक्ष बिष्ट, उपाध्यक्ष कमला पुन, सम्बन्धित वडाका वडा अध्यक्ष तथा सदस्यहरु सहितको टोलीले भत्ता वितरणको लागि गाउँगाउँमा पुगेको हो ।

गाउँपालिकाको केन्द्र नजिक रहेका चार वटा वडाहरुले भने सनराइज बैंक लिमिटेडबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । वडा नम्बर ३, ७, ८ र ९ ले बैंकबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।

जेष्ठ नागरिकहरु बैंकसम्म आउन झन्झट भएको, भौगोलिक रुपले समेत कठिनाई भएको गुनासोपछि गाउँपालिका र बैंकले सहमति गरेर गाउँमै भत्ता बाँड्न थालेको ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्