तीन वर्षमा बन्नुपर्ने गाराघाट पुलको काम ६ वर्षसम्म ५० प्रतिशत पुरा

आगामी असार भित्र निर्माण सम्पन्न गर्ने दाबी

रुकुम पश्चिममा तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने एक मोटरेबल पुल छ वर्षसम्म पनि पुरा हुन सकेको छैन । जिल्लाको मुसीकोट नगरपालिका –१ र बाँफिकोट गाउँपालिका –१० जोड्ने गाराघाट पुलको काम छ वर्षसम्म पुरा हुन नसकेको हो ।

तीन वर्षमै निर्माण सम्पन्न हुने गरि सम्झौता भएको सानीभेरी नदि माथीको उक्त पुलको काम हाल तिब्र रुपमा भैरहेको सडक डिभिजन कार्यालय चौरजहारीले जानकारी दिएको छ । सडक डिभिजन कार्यालयका इन्जिनियर प्रज्वल सुनारका अनुसार फाउण्डेशनको डिजाईन परिवर्तन गरिएपछि पछिल्लो समय निर्माण कम्पनीले तिब्र रुपमा काम गरिरहेको छ । पुलको सव स्टक्चरको काम पुरा भैसकेको र सुपर स्टक्चरको काम सुरु भएको उहाँले बताउनुभयो ।

हालसम्म ५० प्रतिशत मात्र कामको प्रगति भएको दाबी गरिएको छ । पुल निर्माणको फाउण्डेशन र तल्लो भागको काम पुरा भएको र माथिल्लो भागको काम भैरहेको इन्जिनियर सुनारले जनाउनुभयो । निर्माण कम्पनीले अब कुनै बहानाबाजी नगरेमा वा समस्या नआएमा करिब छ महिनाभित्रमा पुल निर्माण भैसक्ने जनाईएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत सडक डिभिजन चौरजहारी मार्फत आर्थिक वर्ष ०७२/०७३ मा गाराघाट पुल निर्माणको ठेक्का खोलिएको थियो । जसअनुसार नागार्जुन कन्ट्रक्सन प्राइभेट लिमिटेडले २०७३ मा पुल निर्माणका लागि नौ करोड ६१ लाखमा सम्झौता गरेको थियो ।

निर्माणको जिम्मा लिएको नागार्जुन कन्ट्रक्सन प्राइभेट लिमिटेडका प्रतिनिधि पतिराम केसीले आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी कामलाई तिब्रता दिइएको बताउनुभयो । तीन वर्षभित्र सबै काम सक्ने पहिलो सम्झौता गरिएको भएपनि विभिन्न समस्याले गर्दा ढिलाई भएको केसीले उल्लेख गर्नुभयो ।

फाउण्डेशनको डिजाईन परिवर्तन, कोरोना महामारीको असर, वर्षायाम लगायतका कारण काम समयमै हुन नसकेको उहाँले जानकारी दिनुभयो । अहिले तीन वटा पिल्लर, स्ल्यापको काम सम्पन्न भएको छ भने माथिल्लो भागका लागि बिम निर्माण र ढलानको लागि तयारी गरिएको केसीले बताउनुभयो ।

पुल निर्मांणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाई हुने गरेको छ । विशेष गरेर वर्षा याममा सर्वसाधारणहरुलाई आउजाउ र दैनिक उपभोग्य सामाग्री ढुवाानीमा समस्या हुने गरेको छ । पक्कि पुल निर्माणस्थल नजिकैको झोलुङगे पुलबाट मोटरसाईकलहरु वारपार गराईदा उक्त पुल जीर्ण बन्दै गरेको स्थानीयको गुनासो रहेको छ ।

गाराघाटमा पक्कि पुल निर्माण सम्पन्न भएपछि रुकुमपश्चिम, जाजरकोट र डोल्पाका स्थानीयलाई यात्रामा सहज हुने विश्वास रहेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्