Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटमा खोलिएको मालपोत र नापी कार्यालयमा ताला

सञ्चालनका लागि बजेट र परिपत्र नहुँदा अन्यौलता
tribeni2

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा स्थापना गरिएका मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि नै बन्द अवस्थामा रहेका छन् । स्थानीयस्तरमै मालपोत र नापी सेवा दिने उद्धेश्यले चार महिना पहिला खोलिएका यी दुवै कार्यालयमा अहिले ताला लगाईएको छ ।

गत असोज १० गते उद्घाटन गरिएका मालपोत र नापी कार्यालय हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । स्थानीयहरुले भने कार्यालयको उद्घाटन गरेर मात्रै छोडिएको गुनासो गरेका छन् ।
जिल्लाको आठबिसकोट र बाँफीकोटका केहि स्थान कार्यक्षेत्र रहने गरी दुई कार्यालय उद्घाटन गरिएको थियो ।

तत्कालिन कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री रातो कामीले दुवै कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटन भएको चार महिना बितिसक्दा पनि साइनबोर्ड राख्ने कामबाहेक केहि उपलब्धि भएको छैन ।

मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बजेट बिनियोजन नहुँदा सेवा सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले बिभागबाट कार्यालय सञ्चालनका लागि कुनैपनि परिपत्र नआएकोले कहिले सञ्चालन हुन्छ भन्नेबारेमा अन्योलता नै रहेको जानकारी दिनुभयो ।

आठबीसकोटस्थित मालपोत र नापी कार्यालयमा जिम्मेवारी तोकिएका कर्मचारीहरु आफ्नै दरबन्दी रहेको कार्यालयमै फर्किएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

आठबीसकोट नगरपालिका –९ मा भाडाको घरमा उक्त कार्यालय स्थापना गरिएको हो । केहि दिनमै सञ्चालनमा आउने आश्वासन देखाए पनि अहिलेसम्म कार्यालय सञ्चालनमा नआएको स्थानीय कमल शाहले बताउनुभयो.। कार्यालय उद्घाटनको समयमा यहाँका सेवाग्राहीहरु जग्गा सम्बन्धी कामको लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको बताईएतापनि सदरमुकाम नै धाउन बाध्य भएको उहाँको भनाई रहेको छ ।

रुकुम पश्चिमको आठबिसकोटमा नापी र मालपोतको कार्यालय सञ्चालन गर्ने भनेर मन्त्री परिषद्बाट निर्णय भएपछि नै कार्यालयको उद्घाटन गरिएको थियो । स्थानीयस्तरमै जग्गा सम्बन्धि हरेक कामकाज गराउन पाउने भएपछि खुशि भएका सर्वसाधारणहरु चार महिनासम्म पनि सेवा सुरु नहुँदा निराश भएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्