सोसल मिडिया
रुकुम पश्चिमको केहि स्थानमा दुई वर्ष पहिला गाडिएका विद्युत पोल र तानिएका तारमा अहिले सम्म लाईन विस्तार हुन सकेको छैन । गाडिएका पोलहरुमा कतै भाँचिएका छन् भने कतिपय स्थानमा पोल तथा तारहरु लथालिंग अवस्थामा रहेका छन् ।
चौरजहारी नगरपालिकाको वडा नम्वर १०, ११, १२, १३ र १४ का विभिन्न स्थानहरुमा यस्तो समस्या देखिएको हो ।
स्थानीय बिनोद शर्माले चौरजहारी नगरपालिका वडा नम्वर १३ आकाशेदेखी छेर्नी डाँडाको बिचमा रहेका पोल भाँचिएकाे बताउनुभयाे । उहाँका अनुसार यसरी बाटोमा अलपत्र परेका विद्युतका पोल र लथालिङ्ग परेका तारको अवस्थाले विद्युत सेवा पाउने सर्वसाधारणको अधिकारलाई गिज्याएको अनूभूति जनताले गरेका छन्।
दुई वर्ष अघि गाडिएका पोलहरु यसरी वेवारिसे बन्दा राज्यको सम्पति समेत नोक्सान भएको स्थानीयको गुनासो रहेको छ । विद्युत सेवा पाउँला भन्ने आशा गरेको बेला पोल भाँचिएर तार नै लथालिंग अवस्थामा रहेको शर्माले जानकारी दिनुभयाे ।
चौरजहारी नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष श्रीकृष्ण शर्माले १३ नम्वरको वडाको कुनै पनि स्थानमा विद्युत सेवा नपुगेको बताउनुभयो । दुई वर्ष पहिला गाडिएका पोल र तारहरु लिलाम जस्तै भएको जानकारी दिनुहुँदै वडाध्यक्ष शर्माले पोल र लाईन बिस्तारको जिम्मा लिएको ठेकेदारको लापरबाहिले यस्तो समस्या सिर्जना भएको बताउनुभयो ।
आफूले बारम्बार जिल्लाको बिद्युत कार्यालयमा यस बारेमा जानकारी गराउँदा पनि विद्युत कार्यालयले ठेकेदारलाई देखाउँने गरेको उहाँले बताउनुभयो । 'जनतालाई समस्या भएको छ,' वडाध्यक्ष शर्माले भन्नुभयो, 'आफ्नो वडाको पुरै जनता र अन्य वडावासी समेत अध्यारोमा बस्न बाध्य भएका छन् ।'
चौरजहारी नगरपालिकाको वडा नम्वर ११ चौफा बजारदेखि माथिल्लो क्षेत्रमा पोल गाड्न तथा तार बिस्तार गर्न नदिएकोले पनि समस्या भएको बताईएको छ । विशेष गरेर जग्गामा विवाद हुँदा उक्त समस्या आएको हो ।