सोसल मिडिया
गुह जिल्ला रुकुमबाट जनयुद्धको उद्घोष गरेपछि केहि समय जिल्लामै काम गरे । २०५४ को अन्त्यतिर कर्णालीमा सरुवा भयो । पश्चिमतिर जाने भन्ने मात्र थाहा थियो । रुकुमबाट दांग झरे । कृष्णबहादुर महरा सरसँग भेट भयो । उहाँ उपब्युरो इन्चार्ज हुनुहुन्थ्यो ।
उहाँले तपाई कर्णाली जाने कुरा भाछ, विप्लव र तिलक जी त्यतै हुनुहुन्छ भनेर जानकारी दिनुभयो । गएर होशियारी र चलाखिपूर्वक संगठन बनाएर आन्दोलन बलियो बनाउन महरा सरले सल्लाह दिनुभयो । विप्लब एक दुई महिना अगाडि मात्र कर्णाली क्षेत्रमा जानुभाको रैछ ।
म त्यहाँबाट गाडि चढेर कोहलपुर पुगे । कोहलपुरबाट सँगै कर्णाली जाने एकजना साथी त हुनुहुन्थो । तर आफ्नो बिषयमा केहि बताउनुभएको थिएन ।
उहाँले चैते दशै आएको छ, मानेर जाउँला भन्नुभयो । मैले मानिन । बाध्य भएर म सँगै हिड्नुभयो । पैदल जादै गर्दा, साँझ पर्यो । बासस्थानको खोजी भयो । उहाँले जहाँनेर सेनाको ब्यारेक छ, त्यहीँनेर बास बसाल्नुभयो– चिसापानीमा । मैले झोलामा केहि किताब र डकुमेन्ट हालेको थिएं । त्यो नबोक्नुपर्ने थियो ।
भोलिपल्ट गाडिमा जाने कुरा भयो । किताब र डकुमेन्ट रिक्स मोलेरै बोके । गाडिको सिटमुनी खुट्टाले छलेर झोला राखेको थिए । सेना आएर हेर्यो देखेन । ब्यारेक कटेपछि लामो सास ताने । त्यो दिन सुर्खेत पुगेर बसपार्कमा बास बसियो ।
गोजिमा धेरै पैसा थिएन । झोलामा दाल चामल बोकेर हिडेका थियौ । भोलिपल्ट बिहान दैलेखको गाडि चढेर चुप्रा पुगियो । अलि अगाडि गएर एउटा घरमा बास मागेर बस्यौ । भाँडाकुँडा जुटाएर खाना पकायौ । पराल ओछ्याएर सुत्यौ ।
एस.एल.सी. चलिरहेको थियो । बिहानै प्रहरीसँग भेट भैहाल्यो । प्रहरीले खानतलास गर्न थाल्यो । हपार्दै सोध्यो : तिमीहरु काँ बाट आयौ ? मेरो बोली पनि ठर्रो नै थियो । भने, ‘जुम्ला जान लाग्या हौ ।’प्रहरी : के काम गर्नुहुन्छ ? कहाँबाट आउनुभयो ? ‘नेपालगंजबाट आको, जुम्लाको टिचर हो’ ।
स्कुलको नाम र ठेगाना के हो ? धन्न यो सोधेन । यो सोधेको भए म के भन्थे होला ? सायद केहि गडबढी हुने थियो पक्कै । ए, सरहरु हुनुहुँदो रहेछ, जानोस् भनेर प्रहरीले पठायो ।
अलिमाथी गएका थियौ, खम्बाखारेनेर प्रहरी चौकी रहेछ । त्यसैबेला पर्यटकका आठ/दश जना भरियाहरु भेटिए । मैले सानो टेप रेकर्डर किनेको थिए । त्यसमा अल्लारे गीत घन्काएर हल्ला गर्दै गयौ । म ती भरियाहरुकै बिचमा घुसे । तीनीहरु त प्रहरी चौकीनेरैको चौतारामा अडेश लाएर पो बसे । यसो कोल्टे आँखाले चौकीतिर हेर्दै अलि माथीसम्म गयौ । त्यसपछि सास फुत्किने गरेर दौडियौ ।
दैलेखको सिमा क्रस गरेर कालिकोटको हाउडी पुग्यौ । हाउडी भन्दा तल पुगेर सुरक्षित बास खोज्न थाल्यौ । एउटा होटेल थियो ।
बास पाईन्छ की ? मैले सोधे । साहुजीले पाईन्छ-पाईन्छ भनेर बस्न भन्नुभयो । मैले सुरक्षा व्यवस्था के कस्तो छ ? भनेर जिज्ञासा राखे । साउजी : सर, चिन्ता मान्नै पर्दैन, नजिकै प्रहरी चौकी छ ।
मुटुमा चिसो पस्यो, फसाद पर्यो । म : अगाडि कति हिडेमा बास पाईन्छ होला ?साउजी : सर टाढै छ । अबेला भयो अब त ।
थाकेको शरिर, हिड्न सक्ने अवस्था थिएन । भोक साह्रै थियो ।
मैले भने, ‘ल त्यसो भए चौकी यतै रैछ, आनन्दै भो । यतै बस्छौ ।’
बिहानै झिसमिसेमा हिड्यौ । लुखुरलुखर हिडिरहेको बेला प्रहरीले बोलायो । हामी उभियौ । प्रहरी त्यहि आईपुग्यो ।
मैले सुरुमै सोधे : के छ सर ? तपाईहरुको भान्सातिर खानपिन पाक्यो कि ? कि हिजोकै बचेको छ र ? प्रहरी : हामीले त खाइसक्यौ । बचेको पनि छैन । यहाँबाट होटेल कति टाढा होला सर भनेर मैले सोधे । अलि परै छ भन्ने जवाफ आयो । प्रहरीको नजिक बनेर छुटकारा पाउँला सोचेको, भएन ।
केरकार सुरुभयो : कहाँ जाने हो ? के काममा जाने हो ?म : जुम्ला जाने हजुर, शिक्षक हो । प्रहरी : के पठाउनुहुन्छ । म : साईन्स पढाउँछु । साथी : म म्याथ टिचर हो । प्रहरीले पानतरीसम्म खान पाईन्छ जानोस् भनेर बिदा गर्यो ।
राँचुलि भन्ने गाउँमा पुग्यौ । साथीले नेमकिपामा काम गर्दा चिनेको एक जना साथी शिक्षक हुनुहुँदो रैछ, कृष्ण शाह । उहाँले खानपान राम्रै व्यवस्था गर्नुभयो । उहाँले मलाई आधार इलाकाबाट आएको भनेर भन्दिहाल्नु भएछ । कृष्ण सरले धेरै जिज्ञासाका साथ मलाई सुत्नै दिनुभएन । राती २ बजेसम्म कुरा गरेरै बसिम । बिहान उहाँले एउटा रुट बनाईदिनु भयो । प्रहरी चौकी छलेर जाने बाटो बनाएर । त्यहि अनुसार गर्यौ । मेरो साथी जुम्लाकै हुनुभएकोले थप सहज भयो ।
म तोकिएको समयमै गन्तव्य पुग्नु थियो । राती, वर्षा नभनेर हिड्नुपर्ने । सँगैको साथीलाई अनुरोध गरिगरि साथमै हिडाए ।
जुम्ला क्रस गर्ने बेलामा साथीले सदरमुकाम हुँदै जाने भन्नुभयो । मैले नाई भन्दा पनि मान्नुभएन । मेरो झोलामा डकुमेन्ट थिए । सदरमुकाम जानु त्यसै रिक्स थियो । साथीेले केहि हुन्न जाऔ भन्दै सदरमुकामको बजार लिइहाल्नुभयो ।
मैलै सोधे ‘कहाँ बस्ने त यहाँ ?’उहाँले भन्नुभयो : मेरा भिनाजु छन् यहि । ‘के गर्नुहुन्छ ?’‘सेना हुन् ।’
मेरो मुटुमा चिसो पस्यो । तर डर देखाउनु भएन । गयौ । च्यांग्राको मासुको सुकुटी रैछ । सिमीको दाल, मार्सीको भात गरेर खायौ । त्यसपछि सालाभिनाको गुनासो पोखापोख भयो ।
किन आको ? यो (म) कोहो ? यस्तै यस्तै । म प्रति शंका भएछ । केरकार गर्न थाले । ब्यापार गर्न आको, साथी जडिबुटिको ब्यापारी हो भन्नुभयो । मैले नि हो भने । म सुतिहाले ।
बिहान हिडेर नरेश भण्डारी सरको गाउँमा पुग्यौ । उहाँका काका गाविस उपाध्यक्ष हुनुहुदो रैछ । आमाले औलबाट आएका छोराहरु भनेर मिठो खान पकाएर खुवाउनु भयो ।
सदरमुकामको नजिकै विप्लव र तिलक बस्नुभएको रैछ । म जाँदा घाममा बसेर जुम्रा मार्दै हुनुहुन्थो । मैले ‘लालसलाम’ भन्ने बित्तिकै ए, आउनुभयो भनेर उठ्नुभयो । अलिबेर कुराकानी भए ।
त्यो बेला पाँच जनाको जिल्ला कमिटि थियो । दुई जना भागेर गएपछि तीन जना मात्रै भएका हौ । प्रहरीले बेला बेला हामी बसेको घर घेरा हाल्थे । हामी भागेर जोगिन्थ्यौ । घरको बुईगलमा लुकेर बस्थ्यौ ।
म भिडन्तहरुमा त परिन, तर धेरै पटक घेराबन्दीमा परेको छु ।
पीडाहरु भनि साध्य छैन्न
२०५३ साल पुसको सुरुवातीमा डोल्पाको त्रिवेणी प्रहरी चौकी आक्रमण गर्यौै । म त्यो बेला एसाल्ट ग्रुपको कमाण्डर थिए । मलाई एउटा बन्चरो दिईएको थियो । एसाल्ट ग्रुपमा पाँचदेखि सात जना सम्म हुन्थे ।
त्रिवेणी कारबाहिमा कमाण्डर बिजय घले गुमाउँदाको पीडा नै आजसम्म मेरो ठुलो पीडाको क्षण हो । सायद मेरो बुवा बित्दा पनि मैले त्यति पीडाको अनुभूति गरिन । म सानै छँदा ०४३ सालमै बुवा बित्नुभएको हो । उति जिम्मेवार नभएको वा सानै भएकोले हो की बुवा बिताउँदाको भन्दा पहिलो कमाण्डर गुमाउँदाको पीडा बढी भयो मलाई ।
भौतिक हिसाबले गरिएका दुःख कष्टको कुनै लेखाजोखा छैन । धेरै ठुलो कष्ट बेहोरेर माओवादी आन्दोलन र संगठन कर्णालीमा बलियो बनाएका हौ ।
तमाम् भौतिक पीडाहरुका अलावा संगठन बनाउने क्रममा भोगेका पीडाहरु पनि अथाह छन् । अहिले जस्तो सजिलै सदस्यता पाउँने, नेता बन्ने त्यो बेला हुदैनथ्यो । उच्च अनुशासन, लगाव, सामाजिक गतिबिधि हेरिन्थ्यो ।
अहिले त आकाशबाट खसेको, धर्तिबाट उम्रेको जस्तो ठान्छन् । हामीले संगठन बनाउँदा धेरै जनसेवाहरु गर्यौ । दुर्गम गाउँहरुमा गएर बाटो खन्ने, व्यक्तिगत मान्छेकै घरमा गएर काम सघाउने, किसानका मकै गोड्ने, दाउरा बोक्ने, घाँस बोक्ने, मल बोक्ने काम गरेर संगठन बनाएका हौ ।
यो पार्टीले जनयुद्ध त भन्छ । गर्छ कि गर्दैन भन्ने ठुलो पीडा भैरहन्थ्यो । जनयुद्ध सुरु गर्दा धेरै खुशि भैयो । सबैभन्दा आनन्दको अनूभुति मेरो त्यहि बेला हो । मेरो खुशिको दिन त्यहि हो । आफुलाई जनयुद्धको एउटा थालनीकर्ता भन्न पाउँदा खुशि लाग्छ ।
२०४०/४१ सालदेखि यहाँसम्म आईपुग्दा जीवन साँच्चिकै संघर्ष नै हो भन्ने मेरो अनूभुति रहेको छ । संघर्षले नै मान्छेलाई बाँच्न सिकाउँछ, त्यो राजनीतिमा होस् या सामान्य जीवनमा ।
अर्को कुरा भनेजस्तै गरी नभएपनि जनयुद्ध हामीले जितेका हौ । हामी जितेरै आएका हौ । अब कसरी जित्ने भन्ने कुरा ठुलो च्यालेन्ज छ । जनता र सिंगो देशलाई खुशि र सुखी कसरी बनाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो ।
सामाजिक विभेद, गरिब धनि, महिला पुरुष, उचनिच लगायतका विभेदको अन्त्य कसरी गर्ने भन्ने कुरा मुख्य कुरा हो ।
हामीले थुप्रै मोर्चाहरु जितेर आएका छौ । चाहे शान्तिका हुन् या युद्धका । सहि विचार, सहि नीति र सहि नेतृत्वको आधारमा हार जितको टुंगो लाग्छ । नेता हुन त सकिन्छ, तर नेतृत्व प्रदान गर्ने कुरा ठुलो कुरा हो ।
समाजले के चाहेको छ ? समाज भित्रका अन्तरबिरोधहरु के हुन् ? नेतृत्वले जान्न सक्नुपर्छ । यसको पहिचान र समाधान गर्ने कुरा नै मुख्य हो । हामी गरिबी बिरुद्धको लडाईमा छौ । बेरोजगारी अन्त्य र स्वरोजगार हामी सबैको साझा मुद्धा बन्नुपर्छ । जनतालाई मालिक र हामी सेवकको रुपमा उभिन सक्नुपर्छ । जनताले हामीलाई सदा प्रश्न गर्ने, खबरदारी गर्ने र सहि नीति तथा योजनामा हिडाउँन रखवारी गरिरहनुपर्छ ।
(कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्मासँग गरिएको कुराकानीमा आधारित ।)
यो पनि पढनुहोस् ....
‘मलाई यदु गौतमले सदस्यता दिनुभएको हो’ - राजकुमार शर्मा
'कर्णालीमा यसरी माओवादी जन्माएका हौं, जनयुद्ध हाँकेका हौं'