Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
बजेट

वितरणमुुखी बजेटले आयोजनामा निराशा

काठमाडौं १६ जेठ
tribeni2

 

सरकारले जनता, सरकारी कर्मचारी तथा राजनीतिक कार्यकर्ता सबैलाई रिझाउने किसिमको वितरणमुखी बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्तामा ठूलो वृद्धि भएको छ । त्यस्तै, कर्मचारीको तलब र सांसद्हरूलाई प्रतिनिर्वाचन क्षेत्र पाउने रकममा पनि वृद्धि गरिएको छ । तर, चालू आर्थिक वर्षको संशोधित खर्चको अनुमान १२ खर्ब सात अर्बभन्दा करिब २७ प्रतिशत ठूलो बजेट ल्याए पनि कुनै ठूलो गेमचेन्जर परियोजना भने घोषणा गरिएको छैन । निरन्तर चलिआएका परियोजनालाई निरन्तरता मात्रै दिइएको छ । आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र सुरेश निरौलाले खबर लेखेका छन् । 

सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालूतर्फ ६२ दशमलव चार प्रतिशत अर्थात् नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख चालू खर्चका लागि विनियोजन गरिएको छ । पुँजीगततर्फ २६ दशमलव ६ प्रतिशत अर्थात् चार खर्ब आठ अर्ब ५९ लाख बजेट विनियोजन भएको छ । यो चालू आर्थिक वर्षमा खर्च हुने भनेर अपेक्षा गरिएको दुई खर्ब ६५ अर्बको तुलनामा ५४ प्रतिशत बढी हो । वित्तीय व्यवस्थातर्फ ११ प्रतिशत अर्थात् एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, बजेटको खर्च बेहोर्न राजस्वबाट नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख उठाउने लक्ष्य तय गरिएको छ । यो चालू आर्थिक वर्षको राजस्वको संशोधित अनुमानको तुलनामा १४ प्रतिशत बढी हो । चालू आर्थिक वर्षमा संघीय सरकारले आठ खर्ब ६० अर्ब राजस्व उठाउने लक्ष्य तय गरेको छ । त्यस्तै, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड बेहोर्ने लक्ष्य तय भएको छ । चालू आर्थिक वर्षमा ५८ अर्ब ८१ करोड अनुदान उठाउने लक्ष्य भए पनि आठ महिनामा जम्मा साढे १३ अर्ब मात्रै उठेको छ । आर्थिक वर्ष सकिँदा ४६ अर्ब ७७ करोड मात्रै वैदेशिक अनुदान उठ्ने अनुमान सरकारले गरेको छ । लक्ष्यअनुसार यस वर्ष अनुदान नआएपछि सरकारले आगामी वर्षका लागि पनि अनुदान प्राप्तिको आकार घटाएको हो ।

आगामी आर्थिक वर्षका लागि वैदेशिक ऋणको अंक भने बढाएर दुई खर्ब ९८ अर्ब ८३ करोड पुर्‍याइएको छ । चालू आर्थिक वर्षमा दुई खर्ब ५३ अर्ब वैदेशिक ऋण उठाउने लक्ष्य राखे पनि आठ महिनाको अवधिमा जम्मा ९३ अर्ब ६९ करोड मात्रै वैदेशिक ऋण उठ्न सकेको छ । आर्थिक वर्षभरिमा कुल दुई खर्ब १० अर्ब ऋण उठाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । आन्तरिक ऋण एक खर्ब ९५ अर्ब रुपैयाँ उठाउने लक्ष्य बजेटको छ । चालू आर्थिक वर्षमा एक खर्ब ७२ अर्ब उठाउने लक्ष्य भएकोमा हालसम्म ५३ अर्ब मात्रै उठेको छ । सरकारले हालै ८६ अर्ब आन्तरिक ऋण उठाउन आह्वान गरेकोमा ५३ अर्ब मात्रै उठ्न सकेको थियो । यस हिसाबले आगामी आर्थिक वर्षका लागि स्रोत जुटाउन हम्मेहम्मे पर्ने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  ०८:०५
प्रतिक्रिया दिनुहोस्