भेरी नदीमा बनेन पुल

जाजरकोट । ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन ।

वि.सं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन ।

सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरू हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । तोकिएको समयमा स्पष्टीकरण पेस नभएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।

यस अवधिमा केही काम भए पनि मजदुरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताउनुभयो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गर्नुभयो ।

गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख नपाएको बताएका छन् । स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले रु ६ लाख रकम नपाएको बताउनुभयो ।

मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैङ्क ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल नौ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो । - रासस

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्