कविता : बाध्यता

  • सिर्जना देवकोटा

मेरो बाल्यकालमा तिमी टाढियौं
तिम्रो बुढेशकालमा म टाढिए
यस्तै चलिरहेछ बाध्यता
तिमीलाई थाह छ !
अमिलो मन नपार्नु है
माया अथाह छ !

सपना उहि हो
उद्धेश्य एउटै हो
त्यतिबेलाको तिम्रो
यतिबेलाको मेरो
तिमी पनि त थियौ
घरभन्दा धेरै पारी
अनि आफैले आफैलाई बेच्ने
बनिगयौ ब्यापारी !

परिवारको खुशि हेर्न
आफ्नो जवानी, चाहना
सपर्पित गर्यौ
आज तिमीले त्यहि
भारी बिसाउँदा
मैले उठाउन खोजिरहेको छु
मन नहुँदा नहुँदै पनि
टाढाकै गन्तव्य रोजिरहेको छु !

बुझिदेउन तिमीले पनि
मैले बाल्यकालमा बुझे जसरी
नठान कि मलाई
बन्यो निष्ठुरी !

दुरी मात्रै हो हामी बीच
तिम्रो आवाज सधैं
मुटुमा धड्किन्छ
मिलनको सोच बोकेर
अथाह खुशि बोकेर
तिम्रो सन्तान फर्किन्छ
तिमी फर्किए जसरी !

- रुकुम (पश्चिम), हाल : काठमाडौं

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्