Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तरकारी बीउ उत्पादनमा नाम चलेको चाँपा केन्द्रमा बीउ उत्पादनमा कमी

जलवायु परिवर्तन तथा रोगको प्रभाव
tribeni2

रुकुम पश्चिम / विभिन्न तरकारीको बीउ उत्पादनमा चर्चामा रहेको रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ चाँपामा रहेको तरकारी बीउ उत्पादन केन्द्रमा केहि वर्ष यता तरकारीको मूल बीउ उत्पादनमा कमी आएको छ । तरकारीको मूल बीउ र उन्नत बीउ उत्पादन गर्दै आएको उत्पादन केन्द्रमा पछिल्ला वर्षहरुमा बीउ उत्पादनमा ह्रास आएको हो ।

पछिल्लो १० वर्ष यता तरकारीको बीउ उत्पादनमा घटबढ हुँदै आएको केन्द्रका निमित्त प्रमुख तथा बागवानी विकास अधिकृत रावेन्द्र प्रताप यादवले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारीको मूल र उन्नत बीउ उत्पादनका हिसाबले प्रख्यात रहेको यस केन्द्रमा जलवायु परिवर्तन, तरकारीमा लाग्ने रोग तथा किराहरुको कारण बीउ उत्पादनमा कमी आएको हो ।

निमित्त प्रमुख यादवले आर्थिक वर्ष ०६८/६९ देखि आर्थिक वर्ष ०७८/७९ को अन्तरालमा उन्नत बीउ भन्दा मूल बीउमा घटबढ भएको तर पछिल्लो दुई वर्षमा दोब्बरले कमी आएको बताउनुभयो । केन्द्रको तथ्याङको अनुसार आर्थिक वर्ष ०६८/६९ मा एक हजार ७१५.५ किलो मूल बीउ उत्पादन भएको थियो भने गत आर्थिक वर्ष ०७८/७९ मा ९७५‍.५ किलो उत्पादन भएको छ ।

पछिल्लो आर्थिक वर्ष ०७६/७७ मा एक हजार १२४ किलो र ०७७/७८ मा ८८०.५ किलो मात्र मूल बीउ उत्पादन भएको छ । अघिल्ला केहि वर्षहरुमा केहि मात्रामा थपघट हुने गरेतापनि पछिल्लो दुई वर्षमा दश वर्ष अघिको भन्दा दोब्बर कमी उत्पादन भएको हो । यस केन्द्रमा काउली, रायो, मुला, प्याज, सलगम, केराउ, काँक्रो लगायतका बालीको विभिन्न जातका मूल बीउ उत्पादन हुने गरेका छन् ।

तरकारीको उन्नत बीउ तर्फ उत्पादन हुने बोडि, सिमी, भिण्डी, स्विस चार्ट, धनियाँ, चमसुर, गोलभेडा, गाजर र स्क्वासमा भने सामान्य रुपमा घटबढ हुने गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा ५३० किलो उन्नत बीउ उत्पादन भएको थियो भने गत आर्थिक वर्ष ०७८/७९ मा ६६०.८ किलो उन्नत बीउ उत्पादन भएको छ । दश वर्ष पहिला आर्थिक वर्ष ०६८/६९ मा भने ३२७.५ किलो उन्नत बीउ उत्पादन भएको तथ्याङक कार्यालयमा रहेको छ ।

निमित्त प्रमुख यादवले केहि वर्ष पहिला मिसन तथा परियोजननका कार्यक्रम लागु हुँदा बीउ उत्पादनको परिणाम बढी मात्रामा रहेको उल्लेख गर्नुभयो । २०३५ सालमा स्थापना भएको यस केन्द्रमा हाल १४ किसिमका विभिन्न तरकारी बालीहरुका २० वटा जातहरुको प्रजनन्, मूल तथा उन्नत बीउ उत्पादन हुँदै आएको छ । तरकारी बीउ उत्पादन केन्द्रले कुल ११७ रोपनी जग्गा मध्य ८० रोपनी खेतीयोग्य जमिनमा बीउ उत्पादन गर्ने गरेको छ ।

यहाँ उत्पादन हुने मूल र उन्नत तरकारी बीउ जिल्लाका विभिन्न कृषि सहकारी, कृषी समुह लगायत सल्यान, जाजरकोट, दाङ, रोल्पा लगायतका जिल्लामा निर्यात हुँदै आएको छ । हाल यहाँको तरकारी बीउले मुलुकको कुल उत्पादनको ८–१० प्रतिशत हिस्सा ओगटेको तरकारी बीउ उत्पादन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्