सानीभेरीको बेल्टापुमा चौथो राष्ट्रपति रनिङ शिल्ड हुदै

२०७९ माघ २७

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आगामी फाल्गुन ३ गते देखि ६ गते सम्म चौथो राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । शुक्रबार गाउँपालिकामा रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिको बैठक बसेर शिल्ड सञ्चालनको कार्ययोजनामा छलफल गरी निर्णय गरिएको छ ।

बैठकमा शिल्ड तयारीको लागि विभिन्न १४ वटा प्रस्ताबहरुमा छलफल गरिएको शिक्षा युवा तथा खेलकुदा शाखाका शाखा अधिकृत भूपाल सिं विष्टले जानकारी दिनुभयो । बैठकले व्यवस्थित र मर्यादित रुपमा शिल्ड सञ्चालन गर्न विभिन्न आचार संहिता तयार गरेको छ भने खेल प्रशिक्षक छनौट, पुरस्कार राशी, स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था तथा हेल्थ डेस्क संचालन लगाएतका विषयमा छलफल गरी निर्णय गरिएको छ ।

सानीभेरी गाउँपालिकाका १३ वटा माध्यमिक तहका विद्यालयहरु सहभागी हुने रनिङ शिल्डमा ७ वटा विधाका खेलहरु सञ्चालन हुने भएका छन् । जसमा छोटो तथा लामो दुरी २ सय मिटर देखि ३ हजार मिटर सम्मको दौड प्रतियोगिता, भलिबल प्रतियोगिता, लङ्गजम्प, त्रिपल जम्प, ज्यावलिङ थ्रो,¸सर्टफुट र हाईजम्प रहेका छन् भने सबै खेलहरु छात्र र छात्रा दुबै तर्फका हुनेछन् ।

तयारी बैठकले १२ कक्षा सम्मका १८ वर्ष मुनिका विद्यार्थीहरुलाई सहभागी गराउने निर्णय गरेको छ भने कुनै पनि विद्यालयले फर्जी विद्यार्थीहरुलाई सहभागी गराएको खण्डमा सम्बन्धित खेलबाट निष्कासित गर्ने र अर्को वर्ष उक्त विद्यालयलाई सहभागी नगराउने निर्णय गरेको छ ।

अघिल्लो वर्ष सानीभेरी माध्यमिक विद्यालय बलिबाङले रनिङ शिल्ड जितेको थियो । यसपटक आयोजक विद्यालयको रुपमा सानीभेरी मावि बलिबाङ रहेको छ भने खेल बेल्टापु रंगशालामा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्