सोसल मिडिया
रुकुम पश्चिम / कर्णाली प्रदेश सभाका सदस्य राजीव बिक्रम शाहले एकतामा नै नेपालीको भविष्य रहेको बताउनुभएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले २८ औ जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको सानीभेरी-मौराखारा-गुरिल्ला म्याराथन तथा साँस्कृतिक कार्यक्रम २०७९ मा बोल्नुहुँदै शाहले नेपालमा सबै मिलेर गणतन्त्र आएको, नयाँ संविधान जारी भएको बताउनुहुँदै सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन आवश्यक रहेको बताउनुभयो ।
शाहले कुनै सयम युद्धको, कुनै समय शान्तिको हुने भन्दै अब विकासको समय आएको उल्लेख गर्नुभयो । सबै दलहरुले देश र जनताका लागि सोचेर सिस्टममा देश चलाउन जरुरी रहेको उहाँको भनाई रहेको छ ।
नेपाल एथ्लेटिक संघका अध्यक्ष समेत रहनुभएका शाहले खेलकुद, कला, सँस्कृतिमा भेदभाव हटाएर सबैलाई एक ठाउँमा उभ्याउन सक्ने ताकत भएको जनाउनुभयो ।
कार्यकर्ताहरुले नेताहरुलाई अनावश्यक प्रेसर दिनुभन्दा असल र सकारात्मक बन्न हौसला दिनुपर्ने उहाँको भनाई रहेको छ । कार्यक्रममा उहाँले सामाजिक कार्यमा एक हुन र विकासको बाधक नबन्न सबैलाई अनुरोध गर्नुभयो ।
कर्णालीका हरेक जिल्लाहरु सम्भावनाका जिल्लाहरु भएकोले विकासका लागि स्वार्थ त्याग्न शाहले अपिल गर्नुभयो ।
एथ्लेटिक्स संघको क्यालेन्डरमा मौराखारा गुरिल्ला म्याराथनलाई समावेश गरेर सार्क राष्ट्रहरुलाई निमन्त्रणा गर्ने र आगामी वर्ष म्याराथन भव्य बनाउने प्रतिबद्धता समेत उहाँले कार्यक्रममा जनाउनुभयो ।