Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपन्नको घरमा शौचालय र धारा बनाउँदै वडा सरकार

tribeni2

रुकुम पश्चिम / रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १० को कार्यालयले वडाका विपन्न वर्गका घरपरिवारहरुलाई शौचालय र धारा बनाईदिन थालेको छ । गरिब, दलित, अशक्त परिवारहरु छनौट गरेर वडाले पक्कि शौचालय निर्माण गर्न थालेको हो ।

वडामा करिब ७० परिवारमा शौचालय नभएको र बनाउन सक्ने अवस्था नभएकोले पहिलो चरणमा २३ घरमा शौचालय निर्माण गरिदिन थालेको मुसीकोट नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले शौचालय निर्माण गर्ने घर छनौट गरेर काम सुरु गरिएको बताउनुभयो ।

साबिक चौखाबाङ गाउँ विकास समिति हुँदा २०६९ सालमा खुला दिशामुक्त गाविस घोषणा गरिएको भएतापनि केहि घरमा शौचालय नरहेको पाईएको छ । वडाअध्यक्ष खड्काले केहिले प्लाष्टिक र टिनले बेरेर काम चलाउ चर्पी बनाएको र केहिको घरमा शौचालय नै नभएको पाईएपछि पहिलो चरणमा शौचालय निर्माण गर्न थालिएको बताउनुभयो । पक्कि शौचालय निर्माणका लागि वडा कार्यालयले सिमेन्ट, बालुवा, सरिया, जस्तापाता, किला, ट्वाईलेट सिट, पाईप खरिद गरेर उपलब्ध गराउने छ । दक्ष कामदारको ज्याला समेत वडाले नै दिनेछ भने सम्बन्धित लाभग्राहिले केहि जनश्रमदान गर्नुपर्ने अनिवार्य गरिएको वडा कार्यालयले जनाएको ।

नगरपालिकामा सञ्चालित शहरी शासकिय कार्यक्रमबाट वडामा प्राप्त भएको ६३ लाख बजेटबाट शौचालय निर्माण, धारा निर्माण, जुठ्यान निर्माण, भकारो सुधार र अन्य विकासका काम गर्न थालिएको वडाध्यक्ष खड्काको भनाई रहेको छ । गत आर्थिक वर्षमा वडामा एक घर एक धारा कार्यक्रम सम्पन्न भएतापनि घर नजिक पाईपमा पानी पुगेको तर धारा निर्माण नहुँदा व्यवस्थित नभएकोले यस वर्ष वडाले धारा निर्माण समेत गरिदिने भएको छ । वडा कार्यालयको सहयोगमा १५१ वटा धारा निर्माण हुन थालेको कार्यालयले जनाएको छ । त्यसका लागि वडाले १३ लाख रुपियाँ छुट्याएको छ ।

त्यसैगरी ५० घरमा भकारो सुधारको लागि वडा कार्यालयले प्रतिघर पाँच बोरा सिमेन्ट, २० बोरा बालुवा ढुवानी गरेर उपलब्ध गराउने छ भने निर्माणको लागि दक्ष ज्यामी खर्च समेत दिनेछ । जसको लागि छ लाख रकम खर्च हुने बताईएको छ । वडाले पाँच लाख रुपियाँ खर्च गरेर जुठ्यान कार्यक्रम सञ्चालन गरेको छ । त्यसैगरी वडाका अन्य सार्वजनिक संरचनाहरु निर्माणमा काम भईरहेको जनाएको छ ।

वडा कार्यालयले घरमा शौचालय, जुठ्यान, भकारो सुधार, धारा निर्माणका काम सुरु गरेर स्थानीयलाई खुशि बाँडेको स्थानीय ७५ बर्षिय चन्द्रबिर ओलीले बताउनुभयो । उहाँले अहिलेसम्म खोल्सा तथा झाँडिमा लुकेर दिशापिसाब गर्नुपर्ने बाध्यता रहेकोले अब त्यसको अन्त्य हुने जनाउनुभयो । स्थानीय कमला बिकले दलित र गरिब परिवारहरु छनौट गरेर वडाले सहयोग गरेको प्रतिक्रिया दिनुभयो । अहिलेको जमानामा पनि घरमा शौचालय नहुँदा समस्या हुने गरेको बताउनुहँदै बिकले वडाको सुन्दरता र सभ्यताको लागि नमूनायोग्य काम हुन थालेको बताउनुभयो । घरघरमा जुठ्यान, भकारो सुधार लगायतका काम भएमा वडानै सरसफाईको लागि उदाहरणीय हुने उहाँको विश्वास रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्