आन्तरिक पर्यटकको रोजाइमा ठुलीदह

रुकुम पश्चिम / रुकुम पश्चिममा रहेको ऐतिहासिक ठुलीदह आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर –७ मा रहेको ठुलीदह आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्य बनेको हो ।

दह वरपरको मनमोहक दृश्य, समथर फाँट र मनै लोभ्याउने ताल रहेका कारण ठुलीदह अवलोकन गर्न जाने आन्तरीक पर्यटकको संख्या वर्षेनी रुपमा बढ्दो अवस्थामा रहेको पाइन्छ ।

राष्ट्रिय गौरबको रुपमा रहेको मध्यपहाडी लोकमार्ग अन्तरगत साँखगाउँको बैरीदहबाट आधा घण्टाको पैदल यात्रामा उकालो चढेपछि मात्र ठुलीदह पुग्न सकिने स्थानीय सुस्मिता विश्वकर्माले बताउनुभयो । ठुलीदह आन्तरिक पर्यटकको पहिलो रोजाई बनेको भएपनि अव्यवस्थित बाटोको कारण दहसम्म सहजै रुपमा पुग्न भने मुश्किल रहेको छ । यस्तै दह आसपासमा खानेपानी र फोहोर व्यवस्थापनमा समस्या देखिएको समेत अर्का स्थानीय रुपेश केसीले बताउनुभयो ।

मुसिकोट नगरपालिकाले ऐतिहासिक ठुलीदहको वातावरणीय प्रभावलाई मध्यनजर गर्दै दहसम्म पुग्ने सहज बाटो खानेपानी, लगाएत आवश्यकताअनुसार अन्य संरचनाहरु निमार्ण गर्नुपर्ने समेत केसीले उल्लेख गर्नुभयो ।

पर्यटकका लागि दहको दीर्घकालिन संरक्षण, प्रचारप्रसार र थप विकासका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने दह अवलोकन गर्न आउने पर्यटकको भनाई छ ।

मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले भने ऐतिहासिक ठुलीदहको वातावरणीय प्रभावलाई मध्यनजर गर्दै दहसम्म पुग्ने सहज बाटो खानेपानी, लगाएत आवश्यकताअनुसार अन्य संरचना निमार्णको लागि ६५ लाख लागतको डिपिआर भैसकेकाले संरचना निमार्णको काम छिटै सन्चालन गर्ने बताउनुभयो । पैदल मार्ग निर्माण, बाध बाध्ने र वन संरक्षण गर्ने जस्ता कामको योजना नगरपालिकाले बनाएको पनि बताउनुयो ।

परम्परा अनुसार ठुलीदहमा गोरु जोत्न नपाइने, फाहोर गर्न नपाइने र बस्ती बसाल्न नपाइने जस्तो भनाइहरु समेत रहेको वडा अध्यक्ष एक्क बहादुर पाण्डेले बताउनुभयो । वडा अध्यक्ष पाण्डेले वर्षातको समयमा ठुलीदहमा धान जस्तो प्रजाती उम्रिने र आफै आलीको बनावट हुने समेत बताउनुभयो ।

मुसिकोट भित्रका अधिकांश ठाउँमा आउने पिउने पानीको मुख्य मुहान सुरक्षित गर्नकै लागी भएपनि ठुलीदहको संरक्षण गर्नुपर्ने बाध्यता रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

वषौंदेखि ओझेलमा परेको ठुलीदह बिगत केही वर्षबाट बाह्य तथा आन्तरिक पर्यटकका लागि मुख्य रोजाईको क्षेत्र बन्दै आएको हो । जैविक विविधताले भरिपूर्ण ठुलीदहको संरक्षणका लागि मुसिकोट नगरपालिकाले विशेष ध्यान दिन आवश्यक छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्