सोसल मिडिया
रुकुम पश्चिम / नेत्र विक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले बैंकको ब्याजदरका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको छ । आज मुसिकोट खलंगामा पत्रकार सम्मेलन गर्दै नेकपा रुकुम पश्चिमले आफ्नो बैठकले बैंकको ब्याजदरका विरुद्ध आन्दोलन गर्ने निर्णय गरेकोे जानकारी दिएको हो । जिल्लाको डि वान, डि टु र डि थ्री को प्रथम पूर्ण बैठकले बैंकको ब्याजदरका विरुद्ध लगायतको विषयमा आफ्नो पार्टीले संघर्ष गर्ने जिल्ला सेक्रेटरी भाष्कर मल्लले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय स्वाधिनता सम्बन्धी जनजिविकाका क्षेत्रमा लगायत विषयमा संघर्ष गर्ने नेकपाका केन्द्रीय सदस्य तथा रुकुम पूर्व पश्चिम इन्चार्ज चन्द्र बुढाले बताउनुभयो । उहाँले आफ्नो पार्टीले जिल्लामा लघुवित्तका विरुद्ध, बैंकको व्याजदरका विरुद्ध, मिटरव्याजका विरुद्ध, लागुऔषध कारोवारका विरुद्ध, भ्रष्टाचारका विरुद्ध विभिन्न खालका संघर्ष गर्ने समेत उल्लेख गर्नुभयो ।
यस्तै शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी विद्युत र कृषकका समस्यालाई मध्यनजर गर्दै आन्दोलन गर्ने समेत केन्द्रीय सदस्य बुढाले बताउनुभयो ।
त्यसैगरि नेकपाले उत्पादन र अर्थ उपार्जनसंग नेता कार्यकर्तालाई जोड्नको लागी खलंगा बजारमा क्याफे र आफ्नो पार्टीलाई जनताको समस्यासँग जोड्नको लागी हटलाईन सेवा संचालनमा ल्याउन लागेको पनि बताइएको छ ।