नेभिगेशन
राजनीति
नेकपा गैंडाकोट

विकासविरोधी काम हुन नदिन जनता नै अन्तिम अस्त्रः सचिव लामिछाने

एकताको एकवर्षमा जिल्ला तहमा नेतृत्वको भागबण्डा टुंगाएको नेपाल कम्युनिष्ट पार्टी नेकपामा अहिले स्थानीय तहमा धमाधम नेतृत्व निर्माण र शपथ ग्रहणको काम भैरहेको छ । केही समयअघि मात्र कान्छो जिल्ला नवलपुरको गैंडाकोट नगरपालिकामा नेतृत्वको टुंगो लगाएर सपथ ग्रहण गराउने काम सम्पन्न भयो । नेकपाले तल्लो तहमा एकतालाइ टुंगो लगाउँदै गर्दा स्थानीय तहमा पार्टी कसरी अघि बढ्छ भन्ने चासो सर्वत्र छ । यसैबिषयमा हामिले भर्खरै सपथ ग्रहण सकाएर काम थालेको नेकपा नगरकमिटी गैंडाकोटका सचिव श्यामसुन्दर लामिछानेसंग कुरा गरेका छौं ।

श्यामसुन्दर जी स्वागत छ यहाँलाई ।

धन्यवाद ।

सर्वप्रथम बधाई र शुभकामना ।

यो शुभेच्छाका लागि विशेष आभार ।

शपथ ग्रहण भैसक्यो । हिजोआज कमिटिले के गरिरहेको छ ?

शपथ ग्रहण पश्चात नगरकमिटिले कार्यालय समुह र सचिवालय बनायो । १८ वडा कमिटि रहेको गैंडाकोट नगरपालिकामा सबै वडामा वडाकमिटिको शपथ ग्रहण कार्यक्रम भर्खरै सकिएको छ ।

गैंडाकोट नगर क्षेत्र पार्टीगत रुपमा हेर्ने हो भने नेकपाका लागि त्यती सहज ठाउँ होईन । आगामी निर्वाचनका लागि पनि जनस्तरमा स्थान बनाउनुपर्ने होला ?

असहजताबाट सहजता खोज्ने हो । स्थानीय निर्वाचनले राम्रै आधार प्रदान गरेको छ । विकास निर्माणले तिव्रता पाएको छ । नगरपालिकामा हाम्रो नेतृत्व छ । प्रतिपक्षी दलको बाधा व्यवधान त छ तर हामी त्यसलाई चिर्दै छौं । आगामी निर्वाचनका लागि हामी दत्तचित्त भएर लागेका छौं । नगरपालिकामा अब आउँदो स्थानीय सरकारको निर्वाचनमा हामी बहुमतका साथ हुने छौं र यसपटक गर्न नपाएका समृद्धिका कार्यभारहरु सम्पन्न गर्नेछौं हाम्रो वडाकमिटि बनिसके । टोल सेलकमिटि तथा जनवर्गिय संगठनहरुको जालो जनस्तरसम्म पुग्ने छ । हामी जनजनमा भिज्नेछौं र अबका चुनावमा हाम्रो जीत निश्चित छ ।

कसरी जनताको मन जित्ने गरी काम गर्नुहुन्छ ?

जनता जनार्दन हुन् । जनताले बुझेका छन् हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु विकास र समृद्धिका लागि अहोरात्र खटिइरहनुभएको छ । विकासलाई कस्ले अगाडी बढाउन खोजेको छ र कस्ले व्यवधान ल्याएर रोक्न खोजेको छ । हाम्रो स्थानीय तहमा जनजनमा यो चर्चा छ । विपक्षीको धारणा नै नकारात्मक छ । विकास नहोस् र नेकपाले जस नपाओस् भन्ने । विकास र समृद्धिले स्थान पाउँदा वित्तिकै हाम्रो उचाई बढ्ने छ, त्यो विपक्षीले राम्ररी बुझेको छ ।

अहिले त तपाईहरुलाई चुनौती पनि छ नगरमा नेतृत्व आफ्नो भएपनि बहुमत प्रतिपक्षीको छ । यसले तपाईहरुलाई भनेजस्तो सजिलो त पक्कै नहोला ?

नगरप्रमुख हाम्रो पार्टीबाट हुनुहुन्छ तर कार्यपालिकामा हाम्रो बहुमत छैन् । स्थानीय सरकारमा पक्ष र विपक्षको व्यवस्था नेपालको संबिधानले गरेको छैन् तर गैंडाकोटको हकमा नेपाली काँग्रेसमा बहुमतको दम्भ छ । विकास र समृद्धि रोक्ने गरि नै कार्यहरु हुँदै आएका छन् । विकास रोकियो भने हामी जनतामा जानेछौं जसले उनीहरुलाई हानि हुनेछ । यस्तै प्रतिकुलताको बिचबाट नै हामी अगाडी बढ्ने छौं । विकासका कुन कुन कामहरु हामीले गर्न पाएनौं सो को कारणसहित जनता जनार्दनसमक्ष पुग्नेछौं । जनता नै हाम्रा अन्तिम अस्त्र हुन् । 

तपाईँहरुको काम प्रतिपक्षको विरुद्ध मात्रै कि जनताको पक्षमा ?

हाम्रो काम जनताको पक्षमा हो । तर प्रतिपक्षले बाधा व्यवधान ल्याएको अवस्थामा त्यसको सिर्जनात्मक र तार्किक बिरोध त गर्नुपर्‍यो नि ।

जनताको पक्षमा हो भने त मतका लागि आधार बनाउन चुनौती छ नी हैन र ?

गैंडाकोटबासीको विकास र समृद्धिको चाहनाप्रति हाम्रो पार्टी प्रतिबद्ध छ । हाम्रो पार्टी जनताकै पार्टी हो । राष्ट्रिय निर्वाचनको बेलादेखि नै जनताले हामीलाई माया गरेका छन् । विकासविरोधीहरुलाई जनताको अगाडी चिनाउँदै हामी जनमत बनाउँदै छौं । चुनौती नभए त मौका कहाँ हुन्छ र ? चुनौतीलाई जनमतले चिर्नेछ र गैंडाकोटमा आगामी स्थानीय सरकार नेकपाको हुनेछ ।

गैंडाकोटले हालसम्म जती नेता पाएपनि उपेक्षा गरियो भन्ने सधैं सुनिन्छ । अघिल्ला निर्वाचित नेता उनीहरुको काम बजेट र विनियोजन अनि अहिलेको आवश्यकता मुल्यांकन गरेको छ त नेकपाले ?

नेकपाको नेतृत्वमा गैंडाकोट नगरपालिकाले दुई बर्षमा विगतमा काँग्रेसको नेतृत्वमा भएका काम भन्दा धेरै राम्रा कामलाई अगाडी बढाएको छ । कम्तिमा पहिलाको नेतृत्वले आश्वासनमात्र बाँडेर बर्षौसम्म झुलाएर राखेका हाम्रा नगरविकासका कामलाई हामी हाम्रै नेतृत्वमा वचनबद्ध भएर काम सुरु गरेको स्थितिमा छौं । 

पुर्वाधार विकास, विद्युतीकरण, खानेपानी जस्ता जनतासंग प्रत्यक्ष जोडिएका कामहरुमा यसअघि भोटको राजनिति गरियो हामीले तत्काल काम थालेर कम्तिमा स्थानीय सरकारको महशुस गराउन सकेका छौं । विकास र समृद्धिको कामलाई अगाडी बढाएका छौं । विकासका कामले एउटा लय समातेको स्थिति छ ।

पुर्वाधार विकास, विद्युतीकरण, खानेपानी जस्ता जनतासंग प्रत्यक्ष जोडिएका कामहरुमा यसअघि भोटको राजनिति गरियो हामीले तत्काल काम थालेर कम्तिमा स्थानीय सरकारको महशुस गराउन सकेका छौं । विकास र समृद्धिको कामलाई अगाडी बढाएका छौं । विकासका कामले एउटा लय समातेको स्थिति छ । नगरपालिकाबाट वडाका लागि विनियोजित बजेटले वडाबासीका अपेक्षा अनुसारका योजना पुरा हुँदैछन् । गण्डकी प्रदेश सरकारबाट पनि कृषि, विकास जस्ता कामका लागि प्राथमिकताका साथ बजेट विनियोजन भएको स्थिति छ । प्रदेश सरकारको प्राथमिकतामा गैंडाकोटको योजना पार्न सफल भएका छौं ।

पहिले तपाईहरु छुट्टाछुट्टै पार्टी हुँदा एकअर्कामै अल्मलिनुभयो अहिले एउटै पार्टी हुँदा आन्तरीक एकतामै रुमल्लीनुभएको छ । माथि भनेका कुरा गफ जस्तै भएनन् र ?

गैंडाकोटको सन्दर्भमा जब बाम गठबन्धन बनाएर २०७४ सालको प्रादेशिक र संघको चुनाव लड्यौं त्यहीबेलाबाट हामी घुलित भइसकेका छौं । पूर्व एमाले र पूर्व माओवादीका कार्यकर्ता घुलित छौं । स्थानीय सन्दर्भमा यो एउटा ठुलो उर्जा हो । नगरकमिटि, वडाकमिटि पनि सहज रुपमा बनायौं । दिनको शुरुवात बिहानीले गर्छ भनेजस्तै नेकपा गैंडाकोट नगरपालिकामा शशक्त र दरिलो रुपमा स्थापित भएको छ ।

उसोभए नेकपाका लागि गैंडाकोटमा अहिलेका प्रमुख प्राथमिकताहरु के के हुन् ?

गैंडाकोटका मुख्य प्राथमिकता भनेकै विकास निर्माण, विद्युतिकरण, पर्यटन, रोजगारी, धार्मिक सांस्कृतिक क्षेत्रको संरक्षण र प्रचार प्रसार, खानेपानी, सिंचाइ र कृषि हुन् ।

नेतृत्व तपाईहरुकै भएको हिसाबले यी काममा के के प्रगती भयो त ?

नगरपालिकाको नेतृत्व हामीमा आइसकेपछि सडक निर्माण र विस्तार कार्यले तिव्रता पाएको छ । विद्युतिकरणले गति लिएको छ । सिंचाइ र खानेपानी जस्ता क्षेत्रमा बजेट विनियोजन भएर काम सुरु भएको छ । नारायणी तटबन्धको काम अघि बढेको छ । कृषि र पशुपालन क्षेत्रमा कृषकलाई नगरपालिकाले प्रोत्साहन निति लिएर काम गरेको छ । विशेषत नगरपालिकाको मुख्य आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारको बढी भन्दा बढी बजेट ल्याएर योजनालाई अघि बढाउने काम भएको छ । अरु थुप्रै काम हामिले गर्दैछौं कुनै सुरुवाती चरणमा छन् । कुनै प्रकृयामा छन् ।

अनि अब त यही नेतृत्वले काम गर्न ३ बर्ष नै त हो । यो बिचमा जनता सामु गरेका सबै वाचा कसरी पुरा गर्नुहुन्छ ?

नगरमा हाम्रो नेतृत्वले काम गर्न ३ वर्ष बाँकी छ । ३ वर्षमा विकास र समृद्धिका धेरै काम हुन सक्छन् । जनतासमक्ष गरेका वाचाहरुको प्रगती अहिले पनि राम्रै देखिन्छ । केही नटुङ्गीएका काम हाम्रै नेतृत्वमा सफल हुनेछन् । हामी पार्टी एकताको उर्जा र अहिलेसम्म अरु राजनैतिक दलले भोट तानेर विकासका काममा सपना मात्रै बाँडेको स्थितिलाई चिर्न जनतासंगै काम गरिरहेका छौं । यसले नै हाम्रा चुनावी प्रतिबद्धताको जीवन्त प्रयोगसिद्ध गरेको छ ।

अन्त्यमा केही भन्नु छ ?

गैंडाकोटलाई साँच्चै देशकै नमुना स्थानीय तह बनाउनु छ । नेकपाको पहिलो प्रयास अहिलेसम्म जति पनि तहस नहस पारियो यहाँबाट जनतालाई ललिपप देखाउने र केन्द्रमा पुगेपछि अथवा स्थानिय तहमै पनि विगतमा जुन हिसाबले गैंडाकोटलाई जानाजान पछाडी पार्ने काम भयो त्यसलाई चिरेर नयाँ मार्गमा डोहोर्‍याउने हो । जुन अहिले गरिरहेका छौं । बाँकी कुरा यहाँका नागरीक नगरवासी र सरोकारवाला सबै राजनैतिक दल संघ संस्था संग मिलेरै काम गर्ने हो । विकासमा अबरोध गर्नेलाई त्यही अनुसार तह लगाउन विकासप्रेमि जनता र राजनैतिक दलसंग सधैं सहकार्य हुनेछ । आगामी दिनमा गैंडाकोटमा नेकपाको नेतृत्व जनता आफैं सुम्पने वातावरण बन्नेछ । नेकपाको विकास यात्रा अविरल छ ।

धन्यवाद

धन्यवाद मुलपाटी टिम र सम्पुर्ण पाठकलाई ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति