चौरजहारीमा छैठौं मेयर कप सुरु

१२ सामुदायिक तथा आवासिय विद्यालयको सहभागिता
२०७९ फागुन ९

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा छैठौं मेयर कप तथा राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ । मंगलबार कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले छैठौं मेयर कप तथा राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

आर्थिक वर्ष ०७९/८० को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार चौरजहारीमा छैठौं मेयर कप तथा राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता २०७९ आयोजना गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

गत माघ २६ गते चौरजहारी नगरपालिका नगर कार्यपालिकाले गरेको निर्णय अनुसार शीतल माध्यामिक विद्यालय चौरजहारीमा मंगलवार देखि मेयर कप तथा राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता संचालन भएको हो ।

चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष भन्दा मुनिका छात्र तथा छात्राहरुले खेलमा सहभागिता जनाएको बताईएको छ ।

छैठौं मेयर कप तथा राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता छात्रा तर्फ दौड १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर रिले दौड १ सय र ४ सय मिटरको हुनेछ । हाईजम्प लगंजम्प, त्रिपलजम्प ज्याभलिंग थ्रो ६ सय ग्राम सर्टपुट ८ पाउण्ड भलिवल र कवडडी खेलहरु संचालन हुने छन ।

छात्र तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार, मिटर र रिले दौडतर्फ ४ सय मिटरको संचालन हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो । हाईजम्प, ज्याभलिगं थ्रो ८ सय ग्राम र सटपुट १२ पाउण्ड भलिवल र कबडडी खेलपनि संचालन हुने वताइएको छ ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख पुष्प वादी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, उप प्रमुख ईश्वरी शर्मा विएम, नेपाल पत्रकार महासंघ रुकुमका उपाध्यक्ष गोपाल रेग्मी, चौरजहारी अस्पताल प्रशासक डिल वहादुर गिरी, विद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, विभिन्न सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

'स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका साथ संचालित प्रतियोगितामा १२ वटा सामुदायिक तथा आवासिय विद्यालयले भाग लिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्