आवधिक योजना निर्माणमा जुट्यो पुथा उत्तरगंगा

२०७९ फागुन १०

रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिकाले आवधिक योजना निर्माणको काम सुरु गरेको छ । बुधबारदेखि गाउँपालिकाको सभाहल तकसेरामा आवधिक योजना निर्माण प्रक्रिया अन्तर्गत पूर्व तयारी कार्यशाला गोष्ठि सुरु भएको हो ।

पुथा उत्तरगंगाका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत वशिष्ठ नारायण यादवका अनुसार गाउँपालिकाले निर्माण गर्ने आवधिक योजनाको पूर्व तयारीका लागि दुई दिने गोष्ठिको आयोजना गरिएको छ ।

जसको उद्देश्य आवधिक योजना बनाउने प्रक्रिया र त्यसमा हुनुपर्ने अन्तरनिहित गुणहरुका बारेमा अभिमुखिकरण गर्ने, स्थानीय सरकारका प्रतिनिधिहरुलाई योजनावद्ध विकासको अवधारणा, यसको आवश्यकताको बोध गराई आवधिक योजना बनाउन उत्प्रेरित गर्ने र आवधिक योजनाको कार्यान्वयन सम्वन्धी जानकारी गराउने रहेको छ ।

गोष्ठिको पहिलो दिन सहजकर्ता पुस्तक चन्दले आवधिक योजनाको सुरुवाती पृष्ठभुमि, स्थानीय तहमा आवधिक योजनाको महत्व, यसको प्रक्रिया र आवधिक विकास योजना व्यवस्थापनको प्रमुख सवाल तथा चुनौतीको विषयमा संक्षिप्त जानकारी गराउनुका साथै पुथाउत्तरगंगा गाउँपालिकाको योजना निर्माणको बारेमा सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरि सहजकर्ता कर्ण नेपालीले पुथा उत्तरगंगा गाउँपालिकाको परिकल्पना, उद्देश्य, रणनीति र कार्यनितिको निर्माण, पुथाका विषयगत समितीहरुको सोच, उद्देश्य र आगामी योजना लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । सहजकर्ता नेपालीका अनुसार भोली आवधिक योजनाको अन्य प्रक्रिया, अवसर र चूनौतीको वरपर रहेर छलफल गर्ने र पछिल्ला दिनमा गाउँपालिकाका सवै वडास्तरमा पुगेर आवधिक योजनाको कामलाई तिव्र रुपमा सन्चालन गरिने छ ।

गाउँपालिकाले आयोजना गरेको गोष्ठिमा प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको आर्थिक सहयोग र ग्रामिण युवा सरोकार केन्द्र नेपालकोे सहजिकरण रहेको पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तिले जानकारी दिनुभयो । अध्यक्ष पुनिराज घर्तिको अध्यक्षतामा उद्घाटन भएको उक्त गोष्ठिमा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत वशिष्ठ नारायण यादव, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, लगायतको उपस्थिती रहेको थियो ।

गाउँपालिकाका कर्मचारी नवराज खड्काले सञ्चालन गरेको उक्त गोष्ठिमा वडा नम्बर ५ का वडा अध्यक्ष टिकासाई घर्तिमगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्