रुकुम पूर्व : कार्यसम्पादनमा सिस्ने उत्कृष्ट

२०७९ फागुन १०

जिल्लाको सिस्ने गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मुल्याङकन प्रतिवेदनमा सिस्ने गाउँपालिका जिल्लामा प्रथम र देशभरमा चौथो भएको छ ।

आयोगको प्रतिवेदन अनुसार देशभरका ७५३ स्थनीय तह मध्य सिस्ने गाउँपालिका कुल ७७.०० अंक ल्याएको छ । विभिन्न १७ वटा सुचकका आधारमा स्थानीय सरकारको मुल्यांकन गरेको आयोगका सचिव भरतमणि सुवेदीले जानकारी दिनुभयो।

गाउँपालिकाको लेखापरीक्षण, बेरुजु रकम, प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधारमा लागु गरि सशर्त अनुदान प्रदान गरे नगरेको, सवारी साधन कर वापत बाडँफाँड गरिएको ४० प्रतिशत रकम प्रदेश सरकारले मासिक रुपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गरे नगरेको धारमा मुल्याङकन गरिएको सुवेदीले बताउनुभयो ।

कुल विनियोजित रकम, कुल खर्च, कुल पूजिँगत विनियोजित रकम, कुल खर्च रकम, राजश्व संकलनको प्रक्षेपित लक्ष्य, यर्थात राजश्व संकल, प्रदेश तहको वायुको गुणस्तर सूचकाङक, समुदायमा आधारित वन व्यवस्थापनमा राखेको लक्ष्य, लक्ष्यको प्रगति र आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अबधिमा प्रविष्ट गरे नगरेको कुरालाई पनि आधारमा मानेर मुल्याङकन गरिएको आयोगले जनाएको छ ।

कर्मचारी र जनप्रतिनिधिको सामूहिक प्रयासले देशभरका सयौँ स्थानीय तहलाई पछि पार्दै उत्कृष्ट अंक ल्याइ सिस्ने गाउँपालिका चौथो भएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । सुशासन र जनमैत्री पालिका निर्माण गर्ने लक्ष्य अनुरुप सिस्ने गाउँपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लाको भूमे गाउँपालिकाले ६६.४१ र पुथाउत्तरगंगा गाउँपालिकाले ५०.१२ अंक प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्