ढुङगाखानी

गोईरी गाउँमा ढुङगाखानी , बर्षौदेखि स्थानीयलाई रोजगारी

गोइरीका ढुङगा घरको छानो छाउन, सिलौटो बनाउन, सजावटका सामग्री बनाउन, मार्वल र टायलको रुपमा प्रयोग
२०७९ फागुन १६

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –८ गोईरीका ७१ बर्षिय धनसिंह पुनले घरछेउको ढुङगाखानीमा काम गर्न थालेको ५६ वर्ष भयो । सानै उमेर देखि काम गर्न थाल्नुभएका पुन बिहानै खानीमा पुगेर ढुङगा निकाल्ने, कुद्ने काम गर्नुहुन्छ ।

परिवारको लालनपालन, उच्च शिक्षा, सम्पूर्ण घरखर्च यसैबाट जुटाउनुभएको छ । खानीका पाका कामदारका रुपमा चिनिने उहाँले बाजेका पालादेखि सञ्चालनमा आएको ढुङगाखानीले अहिले धेरैलाई रोजगारी दिएको र ठुलो बजार लिएको बताउनुभयो ।

सोहि गाउँका ६१ बर्षिय खिमे घर्तीले पनि ढुङगाखानीमै काम गरेर सन्तान हुर्काउनुभयो, पढाउनुभयो । दुई छोरा, एक छोरीको उच्च शिक्षा खानीमै कमाईले पुरा गरेको घर्तीले बताउनुभयो ।

“१६ बर्षको उमेरमा बिहे गरेको हुँ, त्यो भन्दा अघिल्लो सालबाट खानीमा काम गर्दै आएको छु,” घर्तीले भन्नुभयो, “कालापहाड जानु परेको छैन, सिंगो जीवनभर ढुङगाखानीमै काम बिताएको छु ।” घर बनाउने, जग्गा जोड्ने, सन्तान पढाउने मुख्य आयश्रोत नै यहि ढुङगाखानी हो ।

पुन र घर्तीको जस्तै सिंगो गोईरीगाउँवासीको जीविकोपार्जनको श्रोत ‘ढुङगाखानी’ हो । खानीले यहाँका करिब एक सय घरपरिवारको दैनिकी प्रत्यक्ष रुपमा धानेको छ ।

गोइरीका ढुङगा घरको छानो छाउन, भान्सामा सिलौटोको रुपमा प्रयोग गर्न र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ । यसका साथै पछिल्लो समय मार्वल र टायलको रुपमा प्रयोग हुन थालेको छ ।

ढुङगाखानी सञ्चालक मिसर कुमार मल्लले यस पटक करिब ७५ जना दक्ष मिस्त्री र २३ जना कामदारहरुले खानीमा काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार यस सिजनमा ढुङगा निकालिरहेका १५ वटा खानीमा कम्तीमा पाँच जनाका दरले मिस्त्री र अन्यले काम गरिरहेका छन् । हरेक वर्षको मङसिर महिनादेखि जेठसम्म ढुङगाखानीमा काम हुने गर्दछ । अन्य महिना बर्षायामको कारण काम हुँदैन ।

बिक्रिका लागि तयार भएका ढुङगाको आकार हेरेर मूल्य निर्धारण हुने गरेको छ । हाल ७० रुपियाँ प्रतिगोटाको दरले ढुङगा बिक्रि भएको छ । यही मूल्यबाट जग्गाधनी, खानीमा काम गर्ने श्रमिक, लोड/अनलोड खर्च र स्थानीय सरकारलाई कर तिर्नुपर्छ । एकजना कामदारले दैनिक एक हजार देखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । यो पनि समग्र ढुङगाको व्यापार हेरेर घटबढ हुने गर्दछ । 

ढुङगाखानी व्यक्तिको जग्गामा रहेकोछ । यस वर्ष पाँच जनाको जग्गामा रहेको १५ वटा खानीबाट ढुङगा निकालिएको छ । अन्य जग्गामा भएका खानी कुनैमा ढुङगा सिद्धिएका छन् भने कुनै माटोले पुरिएका छन् । आफूहरुले ढुङगा निकाल्नलाई जेसिबी मेशिन मार्फत महंगो खर्चमा माटो हटाएको जग्गाधनी समेत रहनुभएका खानी सञ्चालक मिसर मल्लले बताउनुभयो ।

खानी सुचारु गर्नलाई लगाएको लगानी बढि हुँदा सोचेजस्तो आम्दानी हुन नसक्ने चिन्ता खानी सञ्चालकहरुलाई रहेको छ । ढुङगाखानीबाट यस वर्ष करिब एक लाख ५० हजार ढुङगा बिक्रि हुने अनुमान गरिएको छ ।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले गोईरी र गडिमालिकामा भएको ढुङगाखानी स्थानीयको रोजगारको प्रमुखस्थल भएको बताउनुभयो । दुबै खानीमा गरेर करिब एक सय ५० व्यक्तिले रोजगार पाएको उहाँले बताउनुभयो ।

स्थानीय सरकारले खानीसम्म जाने सडक बनाईदिएको र यस पटक स्तरोन्नतीको लागि ठेक्का भैसकेको नगरप्रमुख बादीले जानकारी दिनुभयो । स्थानीय सरकार र जग्गाधनी बीचको साझेदारीमा खानी सञ्चालन गर्न सकिएमा दिर्घकालिन योजना बनाएर खानीलाई थप व्यवस्थित र मुनाफामूलक बनाउन सकिने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्