सोसल मिडिया
रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम कार्यसम्पादन मूल्याङकनमा प्रथम भएको छ । गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्याङकनमा रुकुमपश्चिम देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये सर्वोत्कृष्ट भएको हो ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७९/८० का लागि भएको छ महिने कार्यसम्पादनमा रुकुमपश्चिमले ४१ पूर्णाङ्कमा ४०.८८ अंक पाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जि.एम.का अनुसार कार्यसम्पादन सम्झौता र सम्झौतमा उल्लेखखित सूचकको आधारमा स्वाचालित रुपमा मूल्याङकन हुने प्रणालीमा प्रविष्ट विवरणको आधारमा रुकुम प्रशासन प्रथम हुन सफल भएको हो ।
उहाँले गृह मन्त्रालयबाट प्रथम भएको जानकारी सहितको पत्र प्राप्त भएको र आगामी दिनहरुमा कार्यालयबाट सम्पादन हुने सेवा र कार्यसम्पादन थप प्रभावकारी बनाईने बताउनुभयो ।
गृह मन्त्रालयका सह सचिव डा. भीष्मकुमार भुषालले कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लाले ३९.४४ भन्दा माथि अंक पाएको जानकारी दिनुभयो । ४० प्रतिशतभन्दा कम अंक ल्याउने जिल्ला कार्यसम्पादनमा अनुत्तीर्ण (न्यून सम्पादन) सूचीमा समेटिन्छन् । उत्कृष्ट १० जिल्लाहरुमा रुकुमपश्चिमसहित रुकुमपूर्व, प्यूठान, रूपन्देही, पर्वत, पूर्वी नवलपरासी, डडेल्धुरा, दाङ र काठमाडौं छन् ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र प्रजिअको कार्यसम्पादनलाई छ वटा समूहमा वर्गीकरण गर्ने गरेको छ । शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण, लागूऔषध नियन्त्रण र मन्त्रालयको मूल्यांकन गरेर जिल्ला प्रशासनको कार्यसम्पादन मूल्यांकन हुने व्यवस्था छ ।
चालू आर्थिक वर्षमा दर्ता भएका र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दाको फच्र्यौट, नागरिकतासम्बन्धी उजुर फच्र्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र गृहबाट प्राप्त उजुरी फच्र्यौट, उपभोक्ता हितविपरीतका उजुरी तथा गुनासा, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण, लागूऔषध सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोग, लेखा परीक्षण भएको कुल अंकमा बेरुजु फच्र्यौट, बक्यौता बेरुजु फच्र्यौट, प्रशासनिक कामकारबाही, महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनलगायत विषयका आधारमा जिल्ला प्रशासनको मूल्यांकन हुन्छ ।
त्यसकै आधारमा पहिलो अर्धवार्षिकमा ४१ पूर्णाङ्कमा र दोश्रोमा ५९ पूर्णाङ्कमाको मूल्याङकन हुने गरेको छ ।