रुकुमकोटमा कमलको जरा : युवालाई आम्दानी, ग्राहकलाई अचार र औषधी

फागुन २५ गतेदेखि जरा निकाल्न प्रतिबन्ध लगाईने
२०७९ फागुन १६

रुकुम पूर्व / यतिबेला रुकुम पूर्वको रुकुमकोटमा रहेको कमलतालमा कमलका जरा निकाल्ने काम भईरहेको छ । कमलतालमा पाईने कमलफूलका जरा निकाल्ने कामले स्थानीयलाई आम्दानी दिएको छ भने ग्राहकले अचार र औषधीको रुपमा उपभोग गर्न पाएका छन् ।

सिजनको बेला एक महिनाको अवधि राखेर जरा निकाल्न थालिएपछि अहिले कमलको जराको माग बढेको छ । जिल्लाको मुख्य पर्यटकियस्थल समेत रहेको कमलतालमा माघ २५ गतेदेखि जरा निकाल्न सुरु गरिएको हो ।

सिस्ने गाउँपालिका –५ स्थित कमलतालबाट जरा निकाल्ने काममा सहजिकरण गर्न गाउँपालिकाले यस वर्ष स्थानीय कमलदह संरक्षण केन्द्रलाई जिम्मा दिएको छ । अघिल्ला वर्षहरुमा भने गाउँपालिकाले ठेक्कामा दिने गरेको थियो ।

कमलदह संरक्षण केन्द्रका महासचिव देवबहादुर हमालले तालबाट जरा निकाल्ने काममा समन्वय गरिरहेको बताउनुभयोे । यस पटकको सिजनमा एक महिना मात्र जरा निकाल्न मिल्ने सूचना जारी गरेकोले पछिल्लो समय जरा किन्न आउनेहरुको संख्या बढिरहेको उहाँले बताउनुभयो ।

स्थानीयस्तर र जिल्ला बाहिरबाट समेत आएकाहरुले तालबाट स्थानीय युवाहरुले जरा निकाल्ने बिक्रिकै किनेर लिने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुको दिनमा ५७ जना युवाले जरा निकानेका थिए भने पछिल्लो समय दैनिक १५ देखि २० जना युवाहरुले तालबाट जरा निकाल्ने गरेका छन् ।

केन्द्रले जरा निकाल्नको लागि एक जनाबाट पुरुषबाट दैनिक छ सय र महिलाबाट चार सय रुपियाँ राजश्व संकलन गरिदिने गरेको महासचिव हमालले बताउनुभयो । गत वर्ष कमलको संरक्षणका लागि भन्दै जरा निकाल्न बन्देज गरिएको थियो ।

चिसोको प्रवाह नगरेर आम्दानीको लागि स्थानीय युवाहरुले तालभित्र डुबुल्की मारेर जरा निकाल्ने गरिरहेका छन् । स्थानीय सुमन बिकले एक पटकमा एक घण्टाजति तालमा डुबुल्की मार्दै उत्रिदै गरेर कमलको जरा निकाल्ने गरेको बताउनुभयो । ताल भित्रको हिलो मुनि रहेको जरा निकाल्न निकै चुनौतीपूर्ण रहेको उहाँको भनाई रहेको छ । सिजनमा स्थानीयस्तरमै आम्दानी गर्न सकिने भएकोले आफूहरुले नियमानुसार जरा निकाल्ने गरेको उहाँको भनाई छ ।

सिस्ने गाउँपालिका –५ कै बिपिन बिकले एक दिनका बढिमा चार पटकसम्म तालमा गएर जरा निकाल्ने गरिएको बताउनुभयो । उहाँले एक पटकमा चार हजार सम्मको जरा निकाल्न सकिने जनाउनुभयो । तालबाट निकाल्ने बित्तिकै तालको छेउमा आएका ग्राहकहरुसँग परिणाम संख्या हेरेर मोलमोलाई हुने गरेको छ । “तौल गर्नुपरेको छैन,” बिकले भन्नुभयो, “चिसोमा डुबेर गरेको मेहेनत हेरेर ग्राहकहरुले समझदारीमा मूल्य दिने गर्नुभएको छ ।”

यसरी सिजनको बेला कमल निकाल्ने एक जना युवाले दैनिक पाँच हजार देखि १० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

स्थानीयले जराको चाना बनाएर आफन्तलाई कोशेलीको रुपमा समेत पठाउने गरेका छन् । नेपालगञ्ज उपमहानरपालिका –७ की बिर्मी परियारले अचार खान र सुकाएर औषधिको रुपमा प्रयोग गर्न आफूले चार हजार रुपियाँको कमलको जरा किनेको बताउनुभयो । मामाघर आएको बेलामा मौकाले कमलका जरा किन्ने अवसर मिलेको उहाँले उल्लेख गर्नुभयो ।

तत्कालको लागि अचार र चाना बनाएर पछिसम्म औषधिको रुपमा कमलका जरा प्रयोग गर्ने गरिएको छ । कमलका जरा खाँदा ‘जण्डिस’ रोगको बिरामीहरुलाई फाईदा पुग्ने बताईन्छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्