Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा २११ वटा झोलुङगे पुलको माग

भूमेमा ९६, पुथा उत्तरगंगामा ७८ र सिस्नेमा ३७ वटा झोलुङगे पुलको माग
२०७९ फागुन १८
tribeni2

तीन वटा गाउँपालिका मात्र रहेकाे रुकुम पूर्वमा २११ वटा झोलुङगे पुलको माग गरिएको छ । जिल्लाको पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाले कार्यपालिका बैठक मार्फत आगामी आर्थिक वर्ष ०८०/८१ को लागि २११ पुल माग गर्ने निर्णय गरेका हुन् ।

निर्णय अनुसार सबैभन्दा बढी भूमे गाउँपालिकामा झोलुङगे पुलको माग गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठले गाउँपालिकाका नौ वटै वडाको लागि ९६ वटा पुलको आवश्यकता रहेकोले सोहि अनुसार माग गरेको बताउनुभयो । फागुन १३ गते सम्पन्न कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभागबाट विवरण माग भईआएकोले पुल आवश्यक स्थान समेत निक्र्यौल गरेर पठाईएको जानकारी दिनुभयो । एक झोलुङगे पुल देखि अर्कोसम्म जान आधा घण्टाको पैदल दुरी रहने उहाँले जनाउनुभयो ।

त्यसैगरी जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाले ७८ वटा झोलुङगे पुलको माग गरेको छ । फागुन ९ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकाका १४ वटै वडामा ७८ वटा पुल आवश्यक रहेको भन्दै सस्पेन्सन डिभिजन ब्रिज कार्यालय ललितपुरलाई स्थान समेत छनौट गरेर पठाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले जानकारी दिनुभयो । अध्यक्ष घर्तीले भौगोलिक रुपले विकट रहेको यस क्षेत्रमा यातायातको सहज पहुँच नरहेको बताउनुभयो ।

जिल्लाको सिस्ने गाउँपालिकाले ३७ वटा झोलुङ्गे पुल निर्माणको माग गरेको छ । सिस्ने गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाका आठ वटै वडाको विभिन्न ठाउँमा गरि ३७ वटा झोलुङ्गे पुल निर्माणको माग गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास बिक्रम शाहले विभागकै पत्रानुसार माघ २२ गतेको गाउँ कार्यपालिका बैठकले झोलुङ्गे पुल मागको निर्णय गरेको बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा सडक सुविधा नहुँदा काठे पुलको सहायताले आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । काठे पुललाई विस्थापित गरेर सर्वसाधारणको यात्रालाई सुरक्षित बनाउन आवश्यक ठानेर गाउँपालिकाहरुले बढी मात्रामा झोलुङगे पुल माग गर्नुपरेको जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्