सोसल मिडिया
कहिलेकाँही कुनै कामलाई सानो वा ठुलोमा गन्ति गर्न सकिंदैन। त्यो मात्र गज्जबको हुन्छ, पवित्र हुन्छ । यदि त्यसले कसैको दुखाई, पीडा कम गर्न मद्दत गर्छ वा कसैको जीवन जोगाउन सहयोग गर्छ भने त्यो भन्दा पुण्यको काम सायदै अर्को होला ।
नेपालको विकट मध्येको एक रुकुम र त्यसको पनि विकट गाउँ तकसेरामा अस्पताल बन्नु कहिलेकाँही हुने त्यस्तै गज्जब कुराहरुमध्येको एक हो ।
एकैछिन एउटा यस्तो ठाउँको परिकल्पना गरौँ है ! 'जहाँ हामीलाई चाहिने सम्पूर्ण आधारभूत स्वास्थ्य सेवाहरु हाम्रै पहुँचमा होस्, हाम्रै लागि भनेर होस । अर्थात ‘People-Centered Care’ होस् ।'
अनि, के एक-दुई जना मानिसले सोच्दैमा परिवर्तन सम्भव होला त ? यो प्रश्नको उत्तर खोज्न म एकैछिन तपाईलाई एउटा विकट स्थानको स्वास्थ्य सेवा प्रणाली (Health Care Delivery System) को अवलोकनमा लान्छु ।
केहि समय अघि बिरामी भएर आँफै वेडमा रहँदा केहि नयाँ प्रयोग गर्ने रहर जाग्यो र कुनै स्थानको स्वास्थ्य योजना तथा रणनीति (Strategic Planning) गर्ने कुरा दिमागमा फुर्यो।
जस अनुसार लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वको पनि दुर्गम गाउँपाालिका पुथा उत्तरगंगाको स्वास्थ्य योजना बनाउन सोचे । जहाँ म कार्यरत छु । भौगोलिक विकटता, सञ्चार सुविधाको समस्या, सचेतनाको कमी, विगततमा सरकारको उपस्थिती बिरलै हुने स्थान हो, यो ।
अहिले पनि सरकारका निजामती कर्मचारी सेवा गर्न आउन धक मान्छन् । आउनै परे दुर्गमको नम्बर खान मात्र बाध्यताले आईपुग्छन् । यो स्थानमा बसेर विकराल अवस्थामा रहेको स्वास्थ्य क्षेत्रको योजना बनाउन म तल्लिन रहे । मेरो योजनालाई पालिकाले स्विकार गर्यो र लागु गर्यो । त्यसमध्यका केहि कुरा तल उल्लेख गरेको छु ।
यहाँ सन्चालित विस्तृत स्वास्थ्य कार्यक्रमहरुः-
माथी उल्लेखित तत्वहरुलाई आधार मानेर आ.व. ०७८/७९ मा नै पुथा उत्तरगंगा गाउँपालिकाकाे Strategic Planning तयार गरियो । नीति तथा कार्यक्रम र बजेटिगं बनायाै। सोहि अनुरुप अहिले पालिकाको प्रत्येक वडामा एक-एक जना घुम्ती स्वास्थ्यकर्मी (Mobile Health Workers) परिचालन गरि 'घरैमा स्वास्थ्यकर्मी कार्यक्रम' शुरु गरिएको छ ।
प्रत्येक महिना ति घुम्ती स्वास्थ्यकर्मीहरु समुदायको प्रत्येक घरमा पुगी प्रत्येक सदस्यको स्वास्थ्य जाँच, नसर्ने रोगहरुको परिक्षण, अपांगता भएका, गर्भवती महिला तथा नवजात शिशुहरुको स्वास्थ्य जांच, कुपोषण मापन, दिर्घरोगीहरुको औषधि व्यवस्थापन, स्वास्थ्य परामर्श दिने आदि कामहरु गर्दछन ।
यसबाट पालिकाको प्रत्येक व्यक्तिहरुको समग्र स्वास्थ्य प्रोफाइल तयार भएको छ भने समुदायमा रहेका धेरै दिर्घरोगि, अपांगता, कुपोषित बालबालिकाहरुको पहिचान भई उपचार तथा परामर्श शुरु भइसकेको छ । घुम्ती स्वास्थ्यकर्मीहरु परिचालन तथा विरामीहरुको उपचार र परामर्शमा समुदाय, स्वास्थ्यकर्मी र स्वास्थ्य चौकीहरुलाई सहयोग गर्न पालिकाको केन्द्रमा चिकित्सक सहितको एक टेलिमेडिसिन केन्द्र (Rural Telemedicine Centre) स्थापना गरिएको छ ।
सोहि केन्द्र मार्फत जटिल केसहरुलाई आवश्यकताका आधारमा जिल्ला तथा प्रदेशका अस्पतालहरुबाट विशेषज्ञ चिकित्सकहरुको परामर्श लिने तथा सहज रिफरल हुने संयन्त्र (easy referral mechanism) तयार भएको छ। यससंगै पालिकाले औजार, उपकरण, औषधि, प्रयोगशाला आदि थप गरि चिकित्सकीय निगरानीमा मौलिक हक अन्तर्गतको आधारभूत उपचार आफ्नै गाउँमा सम्भव गराउने सपनालाई पूरा गर्दैछ।
अस्पताल मार्फत नि:शुल्क स्वास्थ्य बिमा सेवा शुरु गर्न लागिएको छ। अति गरिब, जेष्ठ नागरिक, दशवर्षे सशस्त्र आन्दोलनमा सहिद, घाइते, बेपत्ता परिवारहरुको वार्षिक रु. १ लाख बरावरको स्वास्थ्य बिमा शुरु गरेका छौं। संस्थागत सुत्केरी ४०% भन्दा कम रहेको पुरानो अवस्थालाई सुधार गर्न संस्थामा चेकजांच गर्न आउने सम्पूर्ण गर्भवती महिलाहरुको परिवारको नि:शुल्क स्वास्थ्य बिमा शुरु भएको छ । जसमा संस्थामा गएर सुत्केरी गराउँदा यदि छोरी जन्मेमा सो परिवारको थप अर्को वर्ष पनि रु. १ लाख बराबरको नि:शुल्क स्वास्थ्य बिमा हुनेछ।
लैंगिक, शारीरिक, यौन वा अन्य कुनै प्रकारको हिंसाको न्यूनीकरण गर्न तथा पीडितलाई यथाशिघ्र सहयोग गर्न हटलाइन नम्बर, सेफ हाउस र 'चेलीसंग उपाध्यक्ष कार्यक्रम' ल्याएको छ। गर्भवती महिलाहरुलाई सुत्केरी गराउन पालिकाभित्र वा पालिका बाहिरका जुनसुकै अस्पताल लान एम्बुलेन्स नि:शुल्क छ भने उपचार बिमा मार्फत हुने भएको छ।
आठ कडा जटिल रोग लागेकालाई औषधि नि:शुल्क र ठूलो अस्पताल जान एम्बुलेन्स नि:शुल्क छ। समग्रमा हामीले हाम्रो गाउँको स्वास्थ्य प्रणाली जस्तो होस् भनेर कल्पना गर्छौं, । यस पालिकाले त्यसै अनुसार काम गर्दैछ। यी कार्यक्रमहरुले आम नागरिकलाई छोएको छ र जनताले सरकार छ भन्ने पनि महशुस गर्न थालेका छन् ।
राम्रो भिजन र इच्छ्याशक्ति भएमा एक दुई जनाले सोचेको कुरा पनि सम्भव हुन्छ भन्ने उदाहरण हो यो । विकटमा अस्पताल स्थापना, टेलिमेडिसिन केन्द्र र घरैमा स्वास्थ्यकर्मी कार्यक्रम मार्फत नेपालकै स्वास्थ्य क्षेत्रमा गर्न खोजेको यो एकदम नयाँ र नौलो प्रयोगलाई पालिका तथा सम्पूर्ण व्यक्तिहरुले आत्मसाथ गर्दै अपनत्व लिनुभएकोमा धन्यवाद र दिगोपनाको शुभकामना ।
अन्य स्थानहरुमा पनि यसबाट प्रेरणा मिलोस र माथिल्लो तहका सरकारहरुको समेत ध्यान जाओस भन्ने कामना गर्दछु । साथै कुनै संघ संस्थाले दुर्गमको यो अस्पताल वा यी कार्यक्रमहरुमा सहयोग गर्न इच्छा राख्दछ भने पनि स्वागत गर्दछु र टेलिमेडिसिन सेवाको विस्तारलाई केन्द्रको अस्पतालहरुसँग पनि आह्वान गर्दछु ।
यसरी रणनीति तथा कार्यविधि बनाउने देखि विकटमा अस्पताल तयार पार्नेसम्म जोडिन पाउँदा र आफ्नो ज्ञान र भिजनलाई समाज परिवर्तनको सानो अंशको रुपमा प्रयोग गर्न पाउँदा लाग्ने खुसि र शुकुन अलि बेग्लै हुने रैछ । नेपालको कुनाकाप्चासम्मको स्वास्थ्य अवस्था नजिकैबाट बुझ्न पाएको आधारमा मलाई लागेको नेपालको स्वास्थ्य सेवाले फड्को मार्न मुलत: दुई परिवर्तन हुनु आवश्यक छ:
१) 'जनस्वास्थ्य' सदरमुकाम केन्द्रित होइन, समुदाय केन्द्रित हुनुपर्दछ ।
२) उपचारात्मक विज्ञान (चिकित्सा विज्ञान) लाई नयाँ टेक्नोलोजी र अनुशन्धान तथा प्रमाणमा आधारित उपचार पद्दति (Evidence Based Practice) अनुसार निखारिनु पर्दछ ।
- (डा. मिलन मल्ल तकसेरास्थित आधारभूत अस्पतालमा कार्यरत हुनुहुन्छ ।)