Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा कार्यालय खुलेको साढे तीन वर्षपछि यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ

यातायात सेवा सम्बन्धिका कामका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको दाबी
२०७९ फागुन २१
tribeni2

रुकुम पश्चिम / साढे तीन वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा खोलेको यातायात व्यवस्था सेवा कार्यालयले आईतबार देखि सेवाको शुभारम्भ गरेको छ । चौरजहारी नगरपालिका –२ मा रहेको कार्यालयबाट सेवाको सुरुवात गरिएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सेवाको शुभारम्भ गर्नुभएको हो । सेवा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शर्माले सरकारको सेवा जनताको घरदैलोमा पु¥र्याउन झन्झटिलो कागजी प्रक्रिया बाधक रहेको जनाउनुभयो । कर्णाली सरकार समाजको सुख र सामाजिक न्यायको लागि जनताकै साथमा रहेको जनाउनुहुँदै उहाँले सरकारी सेवा व्यवहारिक हुनुपर्ने बताउनुभयो ।

‘संविधानको कार्यान्वयन र व्यवस्थाको रक्षाका लागि सबै एक हुनुपर्छ,’ शर्माले भन्नुभयो, ‘अब त सरकारका गतिविधिहरु सरकारी निकायले मात्रै समिक्षा गरेर हुँदैन, जनताले पनि समिक्षा गर्नुपर्छ ।’ चुले बैठकबाटै कामको समिक्षा गर्ने संस्कार सुरुवात हुन आवश्यक रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

कार्यालय स्थापना भएको लामो समयपछि सेवा सुरु गर्नुपरेको यथार्थता स्मरण गर्नुहुदै मुख्यमन्त्री शर्माले प्रक्रियामुखि र कागजी सरकारी सेवालाई चुस्त र व्यवहारिक बनाउन आवश्यक रहेको जनाउनुभयो । उहाँले हरेक निकायमा कामचोर संस्कृतिको अन्त्य गर्न जरुरी रहेको कुरामा जोड दिनुभयो । २०७६ साल भदौ २६ गते चौरजहारी नगरपालिका –१ मा कार्यालय स्थापना गरिएको थियो ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख आनन्द चापाईले कार्यालयबाट तत्कालका लागि सवारी दर्ता, नविकरण, सवारी कर असूली, सरुवा सहमतिको काम हुने जानकारी दिनुभयो । सात जना कर्मचारी दरबन्दी रहेकोमा तत्कालको लागि तीन जना कर्मचारीले सेवा सूचारु गर्ने र बाँकी चार जना कर्मचारी मन्त्रालयले पठाउने तयारी भईसरहेको समेत उहाँले बताउनुभयो ।

दरबन्दी पूर्ण भएलगत्तै चालक अनुमती पत्रको परिक्षा संचालन, गाडि दर्ता, सवारी जाँच तथा पास, रुट परमिट, चालक अनुमति पत्र नविकरण लगायतको काममा निरन्तरता दिने कार्यालय प्रमुख चापाईले बताउनुभयो । विगतमा कार्यादेश, बजेट र कर्मचारी अभावको कारण कार्यालयले सेवा प्रवाह गर्न सकेको थिएन ।

अबदेखि घर नजिकैको पायकपर्ने स्थानबाट जनताले सेवा पाउने चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताउनुभयो । उहाँले विगतमा कार्यालयले सेवा प्रवाह नगर्दा सुर्खेत, नेपालगन्ज र दाङ जानुपर्ने बाध्यताको अन्त्य भएको जनाउनुभयो । नगरप्रमुख बादी सवारी सम्बन्धि कामको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गर्नुभयो ।

सर्वसाधारणहरु घरनजिकैबाट सेवा पाउने भएपछि खुशि भएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्