सोसल मिडिया
रुकुम पूर्व / लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा हिउँदयाम सकिन लाग्नसम्म पनि बर्षा तथा हिमपात नुहँदा किसानहरु चिन्तित बनेका छन् । पानी र हिउँ नपर्दा खाद्यन्न र फलफूल खेती गरेर जीविकोपार्जन गर्ने किसानहरु मर्कामा परेका हुन् ।
सिचाँई सुविधाको अभावमा आकाशे पानी र हिउँदयामको हिउँकै भरमा खेती गर्दै आएका किसानहरु हिउँदयाम सकिनलाग्दासम्म पानी र हिउँ नपरेपछि खाद्यन्न अभाव हुने पीरमा रहेका छन् । यतिबेला सेताम्मे हुने जिल्लाका हिमाली डाँडाहरु सुख्खा रहेका छन् ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका –१०, घुम्लीबाङमा स्याउखेती गरिरहनुभएका किसान मनकुमार बुढाले पानी नपर्दा स्याउका बोटहरुमा असर परेको बताउनुभयो । नमूना कृषि फर्म मार्फत स्याउका बिरुवाहरु समेत उत्पादन गरिरहनुभएका बुढाले यस सिजनमा नर्सरीमा रोपेका छ हजार आठ सय स्याउका बोट सिचाँईको अभावमा सुक्न थालेको जानकारी दिनुभयो ।
सोहि गाउँमा नर्सिङ बहुदेश्यीय कृषि फर्म सञ्चालन गर्नुभएका नले घर्तीले फल दिन थालेका एक सय स्याउका बोट पानीको अभावमा सुक्दै जान थालेको जनाउनुभयो । “आकाशे पानी परेको छैन, सिचाँई सुविधा छैन,” घर्तीले भन्नुभयो, “यस वर्ष हिउँ पनि नपरेकोले खेतीबाली सुक्दै जाने चिन्ता रहेको छ ।”
गत माघ १० गते यस सिजनमा पहिलोपटक उच्च भागहरुमा हिउँ परेको थियो । त्यसयता न वर्षा भएको छ नत हिमपात नै । उच्च भागमा रहेका सिस्ने र पुथा हिमालमा सामान्य हिउँ देखिएतापनि हिउँयाममा सेताम्य हुने नर्सिङ, पुथा, चौरीखर्क, लालपाटन हिमाल सुख्खा रहेका छन् । अहिले किसानका खेतबारी सुख्खा अवस्थामा रहेका छन् ।
हिउँ परेपछि मकै रोप्न सुरु गर्ने यहाँका किसानहरुले यसपटक जमिन बाँझो नै राखेका छन् । किसानहरुले रोपेका सिमी, आलु र केहि स्थानका गहुँ, जौ बालीले पानीकै अभावमा राम्रो उत्पादन दिन नसक्ने जनाएका छन् । आकाशे खेतीकै भरमा खेतीगर्ने यहाँका किसानहरु अहिले भने घटेर भोकमरी हुने चिन्तामा रहेका छन् ।
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वका सूचना अधिकारी थलबहादुर बस्नेतले गहुँ, जौ र तोरीलाई अत्याधिक मात्रामा सिचाँई चाहिने बेलामा पानी नै नपरेको बताउनुभयो । उहाँले मकै छर्ने बेला पनि भएको तर पानी नपर्दा चिस्यान नपुग्ने समस्या रहेको जनाउनुभयो । कार्यालयका अनुसार जिल्लाभर कुल २० हजार २६५ हेक्टर जमिन खेतीयोग्य रहेकोमा १९ हजार १७५ हेक्टर जमिन सिचाँईयोग्य रहेको छ ।
सूचना अधिकारी बस्नेतले जम्मा सिचाँईयोग्य जमिनमध्य ११ हजार ५८० हेक्टर जमिनमा आकाशेपानी तथा मौसमी सिचाँईकैभरमा खेती हुने गरेको जानकारी दिनुभयो । जिल्लाभर १६ हजार ६७० हेक्टर जमिनमा मात्र खेती गरिएको उहाँले उल्लेख गर्नुभयो ।
हिउँदयाममा वर्षा नहुँदा आकाशेपानीको भरमा खेती गर्ने यहाँका अधिकांश किसानहरु चिन्तामा रहेको र जिल्लामा हिउँदे बालीको उत्पादन घट्ने कार्यालयको भनाई रहेको छ । अझैपनि हिउँ पर्नसक्ने आशामा किसानहरु रहेको बताईएको छ ।
पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले हिउँले छोपेपछि बाली सप्रने आशा बोकेका यहाँका किसानहरु फागुन सकिने बेलासम्म हिउँ नपर्दा मर्कामा रहेको बताउनुहुन्छ । हिउँदमा पानी नपर्दा उत्पादन घट्ने र सर्वसाधारणहरु खाद्य अभावको मारमा पर्नसक्नेतर्फ स्थानीय सरकार सजक रहने उहाँको भनाई छ । अध्यक्ष घर्तीले त्यस्तो अवस्था आएमा प्याकेजका कार्यक्रम ल्याउन तयार रहेको बताउनुभयो ।