रुकुम कारागारमा कैदीबन्दीले तयार पारेका घरेलु सामाग्रीलाई बजार अभाव

आकर्षक र बलिया मुडा, टोकरी, फूल, स्विटर, टोपी, लेस, पटुकी, झोला लगायतका सामाग्रीहरु बजारको पर्खाईमा
२०७९ फागुन २६

रुकुम पश्चिम / रुकुम पश्चिम स्थित कारागार कार्यालयमा कैदीबन्दीहरुले बनाएका बिभिन्न घरेलु सामाग्रीहरु बजारको अभावको कारण बिक्रि हुन सकेका छैनन् । बिक्रि कम हुन थालेपछि कैदिबन्दीहरुले बजारको खोजी गर्न थालेका छन् ।

कैदीबन्दीहरुले कारागारभित्र मुडा, स्विटर, टोपी, लेस, पटुकी, टोकरी, फूल, झोला लगायतका सामाग्रीहरु उत्पादन गर्ने गरेका छन् । उत्पादित यी घरेलु सामाग्रीहरुले उपर्युक्त बजार नपाएको कैदीबन्दीको नेतृत्व गर्नुभएका चौकीदार जनक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समय कैदीबन्दीले हातले बुनेर तयार पारेका सामाग्रीहरु बिक्रि हुन छाडेका छन् । अहिले कारागारमा एक सय भन्दा बढी मुडा, ३० वटा लेस, १५ वटा झोला, ३० वटा पटुका, केहि फूल र बाँसका डालीहरु तयारी अवस्थामा रहेका छन् ।

सिजन अनुसार बिक्रि हुने यी सामाग्रीहरुको बिक्रि पछिल्लो समय कम भएको छ । चौकीदार बस्नेतले गत दुई सिजनमा करिब पाँच सय मुडा बिक्रि भएको तर यस पटक भने फाट्फुट मात्र बिक्रि भएको बताउनुभयो । उहाँका अनुसार मुडाको साईज अनुसार पाँच सय देखि ८५० सम्म प्रतिओटाको मूल्य तोकिएको छ । त्यसैगरी टोपीको मूल्य दुई हजार देखि दुई हजार पाँच सयसम्म, टोकरी÷डालीको एक हजार, स्विटरको तीन हजार, लेसको आठ सय देखि एक हजारसम्म मूल्य रहेको छ ।

हातले बनुेर तयार पारेका यी सामाग्रीहरु टिकाउ र आकर्षक हुने भएकोले बिक्रि हुने आशा बोकेका कैदीबन्दीहरु निराश भएका छन् । बिक्रि हुन नसकेपछि केहिले भने घरसम्म पठाउन थालेको बताईएको छ । स्विटर, टोपी लगायतका सामाग्रीहरु माग अनुसार तयार हुने गरेका छन् ।

कारागार कार्यालय रुकुम पश्चिमका प्रमुख अकबिर घर्तीले पछिल्लो समय कैदीबन्दीहरुले उत्पादन गरेका सामाग्रीहरु बिक्रि कम हुँदै गएको बताउनुभयो । उत्पादन बढिरहेको तर बिक्रि घटिरहेको उहाँको भनाई रहेको छ । कैदीबन्दीहरुले आफ्नै खर्चमा बजारबाट कच्चा पदार्थ खरिद गरेर घरेलु सामाग्रीहरु बनाउने गरेका छन् । यसरी तयार गरेका सामाग्रीहरु बिक्रि गरेर आम्दानी गर्न सकिने भएकोले कैदीबन्दीहरु सीपमूलक कार्यहरुमा अग्रसर भएको उहाँले जानकारी दिनभयो ।

कारागार प्रशासनले समयको खाली सदुपयोग गरेर आर्थिक उपार्जनमा लगाउन विभिन्न निकायहरुको सहकार्यमा कैदीबन्दीहरुलाई सीपमुलक काममा प्रेरित गर्ने गरेको घर्तीले उल्लेख गर्नुभयो । कारागार कार्यालयमा अहिले २५ जनाले मुडा, दुई जनाले टोली, दुई जनाले पटुकी, ३० जनाले स्विटर, पाँच जनाले लेस बुन्ने काम गरिहरनुभएको बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्