रामजी र पुर्खे बाले तताए रुकुम महोत्सव

आईतबार पूर्णकला बिसी र सुकदेव अधिकारीको मुख्य प्रस्तुती रहने
२०७९ फागुन २७

रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका –१ स्थित बराहटाकुरामा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’ को दोश्रो दिन शनिबार कलाकार रामजी खाँड र पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले प्रस्तुतीले महोत्सवको माहौल थप तातिएको छ ।

लोकदोहोरी गायक राष्ट्रिय कलाकार खाँड र हाँस्य कलाकार पुर्खे बाको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।

गायक खाँडले वनैमा फूल बसायो, फूल फूलेर पयालै भयो, पानको पता छ, जिम्माल बाको आँगनीमा, हावा चल्यो सरर, आँखै लाउने कालो गाजल, क्षितिजपारी लगायतका चर्चित गीतहरु मार्फत दर्शकहरुको साथ बटुलेका थिए ।

त्यसैगरी हाँस्यकलाकार पुर्खे बाले हाँस्यव्यंग्य मार्फत मनोरञ्जन दिनुका साथै सचेतनामुलक सन्देशहरु प्रवाह गरेका थिए । महोत्सवमा पूर्णिमा पाण्डे, केबिका मगर,पवित्रा ओली लगायतका स्थानीय कलाकार तथा जुम्बा डान्स ग्रुपले प्रस्तुतीहरु राखेका थिए ।

आयोजकका अनुसार आज करिब तीन हजार दर्शकहरुले साँस्कृतिक कार्यक्रमको अवलोकन गरेका छन् । महोत्सवको सुरुवातीमै दर्शकहरुको उत्साहजनक सहभागिता देखिएको महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।

शुक्रबार उद्घाटन भएको महोत्सवमा शनिबारदेखि विभिन्न साँस्कृतिक प्रस्तुतीहरु राख्नेक्रम जारी रहेको छ । भोली आईतबार चर्चित गायिक पूर्णकला बिसी, गायक सुकदेव अधिकारी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती राखिने आयोजकले जनाएको छ ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुमपश्चिमको सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सव आयोजक प्रतिष्टानका अध्यक्ष तुल देवकोटाले १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, हरेक दिन लाईभ दोहोरी, स्थानीय कला र सस्कृतिको प्रदर्शनी हुने जानकारी दिनुभयो ।

महोत्सव स्थलमा एक सय बढी स्टलहरु रहेको र स्टलहरुमा घरेलु तथा कृषि उपजहरुको प्रदर्शनी, पर्यटकीय स्थलहरुको प्रचार सामाग्री, व्यापारिक स्टलहरु रहेको अध्यक्ष देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्