सोसल मिडिया
रुकुमको खारा तत्कालिन जनयुद्धको बेला चर्चामा रह्यो । त्यहि खारा गाउँका विपेन उलङगेले द्वन्द्वको पीडा भोग्नुभयो । उहाँले त्यो पीडालाई नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सर्वोच्च अदालतका न्यायाधीश, गृह मन्त्रालय, रक्षा मन्त्रालय, कर्णाली प्रदेशका मुख्यमन्त्री, रुकुम पश्चिम जिल्ला प्रशासन प्रमुख, नरसिङदल गण, त्रिवेणी गाउँपालिका प्रमुख, राजनीतिक दलहरु र सरोकारवालाहरुलाई सम्बोधन गरेर पीडाको सम्बोधन गर्न यसरी माग गर्नुभएको छ ।
महोदय, जनयुद्धका क्रममा खारा घटनामा मृत्यु भएका ४२ जनाको सामुहिक शव करिब १८ वर्षदेखि हाम्रो बन्दै गरेको घरगोठमा बेवारिसे पुरिएको छ । अस्तिपञ्जरको माथि घर बनाएर बस्न मनले मान्दैन । घरदेखि केही मिटरको दुरीमा रहेका शवले भौतिक रुपमा नभएपनि आत्मिकरुपले तर्साईरहन्छ ।
ती सहिदको सम्मान स्वरुप १ रोपनी जग्गा उपलब्ध गराएर समाधिस्थल सहित व्यवस्थापन गर्ने मेरो अनुरोधलाई माओवादी भनेकै झोले सरकारहरुले आर्यघाट पुर्याए । अब मैले त्यतिबेला देखि अहिलेसम्मको मेरो क्षतिपूर्तिसहित तुरुन्तै सहिदहरुको व्यवस्थापन गर्न बिन्ति अनुरोध छ ।
साथै, राष्ट्रको उन्नत सपना देखेर, लडेर पनि सहिदको दर्जा पाएका ती सहिदहरुको शव धर्मसंस्कार अनुसार अन्त्येष्टि पाउने हक छैन र ?
वस्ति र घर भित्र बर्षौदेखि चिहानसंगै बस्नुपर्ने खारावासी र हाम्रो परिवारको कुन गल्तिको सजाय हो ?
करोडौं अर्बौं बजेट जनयुद्ध र सहिदका नाममा सकाउदै गर्दा खारा सतिपोलेमा मर्नेहरुको आत्मले शान्तिको लागि अन्तिम संस्कार गर्नै सकिन्न र ?
घरबार ध्वंस हुँदा र बर्षौबर्ष विस्थापित हुँदाको क्षणमासमेत द्वन्दपीडित रुपमा हामी रहन सकेनौं । तर लासमाथि, आत्ममाथि, पीडितमाथि, ईमानमाथि, गरिबी र बाध्यतामाथि अझै राजनीति चाहिन्न भो ।
त्यतिबेलाको जल्दाबल्दो खारा ब्यारेकको केही अंशमात्रै सुरक्षित हुनु हाम्रो लागि कुनै राहतको बिषय हैन । एकथान टुकुडीले हाम्रो पीडा बिर्साउदैन, बल्झाउँछ मात्रै । बरु व्यवस्थापन गरिदेउ सहिदको शवहरु, उठाईदेउ अस्तिपञ्जरहरु, उठाईदेउ ब्यारेकहरु । गाई चराएर आनन्दले त बस्न मिल्ला ।
- खाराबाट विपेन उलङगे