टिका सानु र मानसिंहको दोहोरीमा लठ्ठिए रुकुमेली दर्शक

२०७९ फागुन २९

रुकुम पश्चिमको मुसिकोटमा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’ को चौथो दिन आज कलाकार टिका सानु र मानसिंह खड्काले प्रस्तुती राखेका छन् ।

लोकदोहोरी क्षेत्रमा चर्चिक कलाकारद्वय सानु र खड्काको मुख्य प्रस्तुतीले आज सोमबार दर्शकहरुको मन जितेको छ ।

कार्यक्रममा दुबै जनाले विभिन्न गीतहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएको बताईएको छ । बिशेष गरेर कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा राखिएको प्रत्यक्ष दोहोरीमा दर्शकहरु लठ्ठिएको आयोजकले जनाएको छ ।

लोक दोहोरी क्षेत्रमा अब्बल कलाकारद्वय सानु र खड्काले 'पानको पात' बोलको गितमा लामो समयसम्म दोहोरीमा घम्साघम्सी गरेका थिए ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुमपश्चिमको सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सव आयोजक समितिका संयोजक डिल्ली परियारले महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरुको प्रस्तुती, हरेक दिन लाईभ दोहोरी, स्थानीय कला र सस्कृतिको प्रदर्शनी हुने जानकारी दिनुभयो ।

आयोजक समितिका अध्यक्ष तुल देवकोटाले सास्कृतिक कार्यक्रमहरुका साथै महोत्सवस्थलमा एक सय बढी स्टलहरु रहेको र स्टलहरुमा घरेलु तथा कृषि उपजहरुको प्रदर्शनी, पर्यटकीय स्थलहरुको प्रचार सामाग्री, व्यापारिक स्टलहरु रहेको जानकारी दिनुभयो ।

तस्बिरहरु : अमरराज पुन/नेपाल टेलिभिजन

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्