Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
खरका छानामुक्त आवास अभियान

चौरजहारी : सुरक्षित नागरिक आवास कार्यक्रमको सम्झौता गाउँमै

यस वर्ष २३० घर खरका छानामुक्त बनाईने
२०७९ फागुन ३०
tribeni2

रुकुम पश्चिम / योजना कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमा जाने, सम्झौता गर्ने र काम सम्पन्न पश्चात कागजात बोकेर फेरि सोहि कार्यालयमा जाने चलन चलिरहेको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गाउँमै पुगेर योजना सम्झौता गर्ने कामको सुरुवात गरेको छ ।

चौरजहारी नगरपालिकाले गाउँमै पुगेर नागरिकको घर बनाउने सम्झौताको सुरुवात गरेको हो । नगरपालिकाले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत छनौट भएका लाभग्राहिहरुको सहजताको लागि वडामै गएर सम्झौताको सुरुवात गरेको नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख शेरप्रसाद ढकालले नगरपालिकाको वडा नम्वर १४ मा पुगेर कार्यक्रम कार्यान्वयनको लागि सम्झौताको सुरुवात गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनका लागि छनौट भएका १४ नम्वर वडाका ४७ घरपरिवार मध्य ४२ घरपरिवारसँग सम्झौता गरिएको छ ।

नगर कार्यपालिकाको कार्यालयबाट खटिएको टोलीले निरन्तर अन्य वडामा पुगेर सम्झौताको काम गर्ने बताईएको छ । वडा सिफारिस, फोटो प्रिन्ट, प्राविधिक लागत इस्टिमेट, सम्झौता, बैंक खाता सञ्चालन लगायतका सेवाहरू गाउँमै पुगेर एकै ठाउँबाट प्रदान गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।

टोलीले ४२ घरपरिवारसँग कार्यक्रम कार्यान्वयनको सम्झौता र ३६ जना लाभग्राहीको बैंक खाता समेत सञ्चालन गरेको छ ।

चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले नगरपालिकाले अघि सारेको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस वर्ष २३० वटा घर खरका छानामुक्त बनाउन लागेको बताउनुभयो । उहाँले पानी चुहिने, हावाहुरी र आगलागीको जोखिममा रहेका नागरिकका घर छनौट गरेर टिनको छाना राख्न लागेको जानकारी दिनुभयो । यस कार्यका लागि नगरपालिकाले एक घरलाई ५० हजार रुपियाँ सहयोग गर्ने बताईएको छ ।

सकभर जनताकै आँगनमा सेवा प्रवाह होस् भन्ने चाहना अनुरुप यस्तो कार्य अघि सारिएको उहाँले बताउनुभयो । स्थानीय सरकारले सझन्झटरहित, चुस्त र पारदर्शि सेवा बनाउन लागि परेको नगरप्रमुख बादीले जनाउनुभयो । यस कार्यले सेवाग्राहीलाई आर्थिक व्ययभार नपर्ने र प्रक्रियागत झन्झट पनि नहुने विश्वास रहेको उहाँको भनाई छ ।

नगरपालिका कार्यालयबाट सबैभन्दा टाढाको दुरीमा रहेको वडा कार्यालयबाट एकीकृत सेवा प्रदान गरिएको वडाध्यक्ष थलबहादुर कँवरले बताउनुभयो । यस कार्यले गाउँबाट नगर कार्यपालिका कार्यालय, फोटो सेन्टर, बैंक लगायतका विभिन्न ठाउँ धाउनुपर्ने, होटल बास बस्नुपर्ने, गाडी चढेर यात्रा गर्नुपर्ने झन्झड नागरिकले बेहोर्नु नपर्ने वडाध्यक्ष कँवरले उल्लेख गर्नुभयो ।

सम्झौता गरिएका कार्यक्रमहरुको कार्यान्वयनका लागि वडा कार्यालयले नियमित सहकार्य र अनुगमन गर्ने उहाँको भनाई रहेको छ । गाउँमै एकिकृत सेवा प्रवाहका लागि नगरपालिकाले पूर्वाधार विकास शाखा, नेपाल बैंक लिमिटेड, प्रवेश फोटो एण्ड प्रिन्टर्स लगायतसँग सहकार्य गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्