पल शाहको जेल अनुभव : ‘जेल भन्ने बित्तिकै डर लाग्छ’

‘जेल जीवन विश्वविद्यालय सरह भयो, अब पहिला म्युजिक भिडियो गर्छु’

रुकुम पश्चिम / चर्चित मोडल तथा नायक पल शाहले रुकुम पश्चिम पुगेर आफ्नो एक वर्षे जेल जीवनको अनुभव सुनाउनुभएको छ । उहाँले आफ्नो छोटो अनुभव सुनाउने क्रममा जेल भन्ने बित्तिकै डर लाग्ने गरेको बताउनुभयो ।

एक वर्षे जेल बसाँईबाट निस्केपछि पहिलो पटक सार्वजनिक कार्यक्रमका लागि रुकुम पश्चिम आउनुभएका शाहले एक वर्षे जेल बसाँई आफ्नो लागि विश्वविद्यालय सरह भएको बताउनुभयो ।

“मेरो घरमा मेरो एकएक जना जना आमा, बुवा, दाई र बहिनी मात्र हुनुहुन्छ लागेको थियो,” शाहले भन्नुभयो, “मेरा लाखौ आमाबामा, दाजुभाई, दिदिबहिनी, साथीहरु हुनुहुन्छ भन्ने कुरा जेलमै हुँदा थाह पाए ।” जेलमा हुँदा लाखौ, हजारौ आफन्त र शुभचिन्तकहरुले गरेको प्रार्थना र आर्शिवादले गर्दा पुनः दर्शकहरुको सामु आँउन पाएको बताउनुभयो ।

उहाँले अब पुनः अभियनमा फर्किने बताउनुभयो । अब सुरुमा म्युजिक भिडियो खेल्ने र त्यसपछि चलचित्रमा अभिनय गर्ने जानकारी दिनुभयो । शाहले ‘तिमीलाई हेर्ने बानी पर्यो...’ बोलको गीत मार्फत चाँडै दर्शकहरुको नजिक हुने उल्लेख गर्नुभयो ।

जिल्लाको मुसीकोट नगरपालिका –१ बराहटाकुरामा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’ को छैठौ दिनमा आउनुभएका नायक शाहले गृह जिल्ला दांगको छिमेकी जिल्लामा पहिलो पटक आउन पाउँदा निकै खुशि लागेको उल्लेख गर्नुभयो ।

एक नाबालिका बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागारको थुनामा रहेका नायक शाहले फागुन १४ गते उच्च अदालत पोखराबाट सफाइ पाउनुभएको थियो । उहाँ हेलिकोप्टर मार्फत रुकुम महोत्सव पुग्नुभएको हो ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुमपश्चिमको सह–आयोजनामा रुकुम महोत्सव सञ्चालन भईरहेको छ । महोत्सव चैत्र ७ गते सम्म चल्ने बताईएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्