रुकुम महोत्सव : एलिनाले 'धोकेबाज हौ' गाउँदा प्रहरीलाई हैरानी

झरिका बीच एलिनाको दमदार प्रस्तुती

चर्चित गायिका एलिना चौहानले आज सोमबार रुकुम पश्चिममा जारी महोत्सवमा आफ्नो दमदार प्रस्तुती राख्नु भएको छ । दिउँसो देखि परेको झरीको प्रवाह नगरी उपस्थित भएका हजारौ दर्शकहरुको बीच एलिनाले प्रस्तुती राख्नु भएको हो ।

पछिल्लो समय युवा पुस्ता बीच चर्चित गायिका एलिनाको प्रस्तुती हेर्नलाई झरिको प्रवाह नगरेर आएका दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको छ ।

एलिनाले स्टेजमा धोकेबाज हौ तिमी बोलको गीत गाउँदा सयौ दर्शकहरुले साथ दिएका थिए । गीतसँगै उफ्रिएका, नाच्न कस्सिएका दर्शकहरुको होहल्ला शान्त पार्न प्रहरीलाई समेत हैरानी भएको थियो । झरिका बीचमा पनि हौसिएका दर्शकहरुले सुरक्षाकर्मीलाई हम्मेहम्मे पारेका थिए ।

एलिनाले स्टेजबाट दर्शकहरुलाई लगाईएको बार नभत्काउन र प्रहरीलाई लाठि चार्ज नगर्न अनुरोध गर्नुभएको थियो ।

एलिनाले धोकेबाज हौ तिमी, मिनरल वाटर, यो भाग्यमा खोट छ, गोदावरी वनैमा, पानीमा आगो बाल्न खोजे ....लगायतका गीतहरु गाउनुभएको थियो ।

एलिनासँगै आज कार्यक्रममा चर्चित लोक गायक चन्द्र शर्माले पनि दमदार प्रस्तुती राख्नु भएको थियो । यसै बीच महोत्सवको १२ औं दिन भोलि गायक पुष्कल शर्माको प्रस्तुती रहने आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका १ बराहटाकुरामा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’को आज ११ औं दिन हो ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुमपश्चिमको सह–आयोजनामा महोत्सव सञ्चालन भएको हो ।

महोत्सव भोलि चैत्र ७ गते सम्म चल्ने बताईएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्